२०८३ भाद्र २९ गते सोमवार

बझाङका रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए



  • बझाङका रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए

सुर्खेत भदौ ३१
बझाङको बित्थडचिर गाउँपालिका घर भएका मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन् ।

शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन् । व्यावसायिक फाइट करिअरको छैटौं खेलमा पनि जित हासिल गर्दै रविन्द्रले इतिहास रचेका छन् । उनी वन च्याम्पियनसिपको फ्राइडे फाइट्समा जित हासिल गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।

सुरुवाती दुवै राउण्डमा टेकडाउनमा डोंगाकलाई दबाबमा राखेका रविन्द्रले तेस्रो राउण्डमा पनि बलियो सुरुवात गरे । ५-५ मिनेटको तीन राउण्डको खेल भएपनि रेफ्रीले तेस्रो राउण्डको २ मिनेट नपुग्दै खेल रोकेका थिए ।

गत महिना नेपालमै सम्पन्न नेपाल वारियर्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले वन च्याम्पियनसिप खेल्ने दुर्लभ अवसर पाएका थिए । थाइल्याण्डमा ऐतिहासिक जित दर्ता गरेसँगै उनलाई अब वन च्याम्पियनसिपमा खेल्ने बाटो पनि खुल्नेछ ।

बझाङका स्थायी बासिन्दा रविन्द्र घरको आर्थिक अवस्था कमजोर भएपछि जीविकोपार्जनकै सिलसिलमा भारत पुगेका थिए । नेपालमा एसएलसी दिएपछि भारतमै सामान्य जागिर गरेका उनले कराते खेल सिक्दै मिक्स मार्सल आर्ट्समा प्रवेश गरेका थिए ।

पछिल्लो केहि वर्षदेखि उनी नेपालको लक एन्ड रोल एमएमएमा दिविज पियाको व्यवस्थापनमा रहेर मार्सल आर्ट्समा पूर्ण रुपमा लागेका थिए । उनले भारतमा पनि केहि प्रतियोगिता जित्दै वन च्याम्पियनसिपको यात्रा तय गरेका हुन् ।

 

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार