सरकारको निर्णय स्वीकार्न तयार छैनन् कार्की, सर्वोच्च जाने तयारी
कमल कुमार शाही
स्वाभिमान खबर, कार्तिक १८
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन्। आफ्नो पदावधि बाँकी रहँदै जिम्मेवारीबाट हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनी न्यायका लागि सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि कार्कीले आफूनिकट व्यक्तिहरूसँग छलफल गर्दै सरकारको कदमविरुद्ध कानुनी उपचार खोज्ने निष्कर्ष निकालेका छन्।
कार्कीनिकट स्रोतका अनुसार उनले सरकारको निर्णयलाई अन्यायपूर्ण भन्दै अदालत जाने स्पष्ट संकेत गरेका छन्। ‘यो सरकारले पहिलेदेखि नै मलाई काम गर्न दिएको थिएन, निरन्तर अप्ठ्यारो पारिरहेको थियो,’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब म यो अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी लडाइँमा जान्छु।’
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ। तर, पदावधि बाँकी रहँदै आफूलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गैरकानुनी र पूर्वाग्रही भएको कार्कीको दाबी छ।
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीसँगै प्रहरी नेतृत्व परिवर्तनको विषय अब न्यायिक प्रक्रियामा प्रवेश गर्ने सम्भावना बढेको छ। कार्कीले अदालतमा कस्तो कानुनी आधार प्रस्तुत गर्छन् र सरकारको निर्णयबारे सर्वोच्च अदालतले कस्तो व्याख्या गर्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
स्वाभिमान खबर काठमाडौँ













प्रतिक्रिया दिनुहोस्