२०८३ भाद्र २७ गते शनिवार

कांग्रेसमा महाभूकम्प : गगन–विश्वसहित नेताहरूमाथि संस्थापनको ५ वर्षे कारबाही



कांग्रेसमा महाभूकम्प : गगन–विश्वसहित नेताहरूमाथि संस्थापनको ५ वर्षे कारबाही 
कमल कुमार शाही
स्वाभिमान खबर, पुष ३०
काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले चरम रूप लिँदै जाँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि संस्थापन पक्षले कडा कारबाही अघि बढाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन र विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्ने निर्णय गरेको हो।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै संस्थापन पक्षले उक्त कारबाही गरेको जनाएको छ। बैठकले विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका नेताहरूलाई आफ्नो-आफ्नो जिम्मेवारीमा फर्किन समेत निर्देशन दिएको छ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको दाबी गर्दै त्यसलाई बेवास्ता गरिएको भन्दै आह्वान गरेका थिए। तर, उनीहरू स्वयं सहभागी केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो। उक्त निर्णयप्रति थापा र शर्माले फरक मत राख्दै आएका थिए।

विशेष महाधिवेशन आह्वानलाई नै अन्तिम निर्णय ठहर गर्दै उनीहरूले बन्दसत्रको हलबाट निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेका थिए। सोहीअनुसार निर्वाचन समिति गठन गरी सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरिएको थियो।
पार्टी विभाजनको अवस्था आउन नदिन भन्दै पछिल्ला दिनहरूमा शीर्ष नेताहरूबीच पटक–पटक छलफल भएका थिए। मंगलबार मात्रै तीन चरणमा छलफल भएको थियो भने बुधबार बिहान महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष भेटवार्ता गरेका थिए। तर, ती छलफलहरूले सहमतिको बाटो खोल्न सकेनन्।

निकास ननिस्किएपछि विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको निर्वाचन समितिले जनाएको छ। अन्य पदाधिकारीहरूमा समेत मनोनयन भइसकेको समितिको दाबी छ।

कांग्रेसभित्रको यो पछिल्लो घटनाक्रमले पार्टीभित्रको शक्ति संघर्ष थप चर्किएको संकेत गरेको छ। संस्थापन र सुधारवादी धारबीचको टकराव अब औपचारिक कारबाहीसम्म पुगेपछि कांग्रेसको भविष्य र एकतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार