२०८३ साउन १२ गते मङ्गलवार

काङ्ग्रेस दास र लासहरूको पार्टी होइन : जिउँदाहरूको पार्टी हो – महामन्त्री गगन थापा



काङ्ग्रेस दास र लासहरूको पार्टी होइन : जिउँदाहरूको पार्टी हो – महामन्त्री गगन थापा
देपेन्द बहादुर शाही
स्वाभिमान खबर,पुष २६
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ । संस्थापन पक्षको तीव्र असहमतिका बाबजुद तल्लो तहका कार्यकर्ताको निर्णायक दबाबका कारण विशेष महाधिवेशन सम्भव भएको भन्दै महामन्त्री गगन थापाले यसलाई पार्टी रुपान्तरणतर्फको ऐतिहासिक मोडको रूपमा व्याख्या गरेका छन् ।


महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस कुनै व्यक्ति वा गुटको नियन्त्रणमा चल्ने “दास र लासहरूको पार्टी” नभई सचेत, सक्रिय र जिउँदा कार्यकर्ताले चलाउने पार्टी भएको स्पष्ट पारे । “कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदाहरूको पार्टी हो,” उनले भने, “यो विशेष महाधिवेशन कार्यकर्ता तहको बल र चेतनाको परिणाम हो ।”


२०१४ सालमा सम्पन्न पहिलो विशेष महाधिवेशन सभापति सुवर्णशमशेर स्वयंको आह्वानमा भएको र कुनै आन्तरिक विवाद नदेखिएको स्मरण गर्दै थापाले ६८ वर्षपछि सुरु भएको दोस्रो विशेष महाधिवेशन भने सहज नआएको बताए । उनका अनुसार यसपटक संस्थापन पक्ष र कार्यसम्पादन समितिले विशेष महाधिवेशन रोक्न अनेक प्रयास गरे पनि प्रतिनिधिहरूको ६२ प्रतिशत समर्थनले महाधिवेशन सुनिश्चित भयो ।


महामन्त्री थापाले विशेष महाधिवेशन केवल औपचारिकतामा सीमित हुन नहुनेमा जोड दिए । “विशेष महाधिवेशन मात्रै हुँदैछैन, यसलाई विशेष बनाएर टुंग्याउनुपर्छ,” उनले भने, “यहाँबाट नीति पनि बदलिनुपर्छ, नेतृत्वको शैली र सोच पनि बदलिनुपर्छ ।”
उनले प्रतिनिधिहरूले उठाएको पार्टी रुपान्तरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र जनताको भरोसा पुनःस्थापना गर्ने मागलाई गम्भीर रूपमा लिनुपर्ने बताए । “हाउसले जे निर्णय गर्छ, म त्यसलाई स्वीकार गर्छु,” थापाले स्पष्ट पारे ।


महाधिवेशनमा सहभागी धेरै प्रतिनिधिहरूले पनि कार्यकर्ता तहको दबाबले पार्टी नेतृत्वलाई आत्मसमीक्षामा बाध्य बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार यो विशेष महाधिवेशनले कांग्रेसलाई गुट–उपगुटभन्दा माथि उठाएर जनमुखी र सिद्धान्तनिष्ठ पार्टी बनाउने अवसर दिएको छ ।


आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन आगामी दिनमा नीति, संगठन र नेतृत्वसम्बन्धी निर्णायक बहस र निर्णयतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ । कांग्रेसभित्र लामो समयदेखि उठ्दै आएको रुपान्तरणको माग यस महाधिवेशनबाट सम्बोधन हुन्छ कि हुँदैन भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार