२०८३ भाद्र २७ गते शनिवार

सुर्खेत जिल्लाका नेकपा (माओवादी) प्रतिनिधि सभा उम्मेदवार सिफारिस: क्षेत्र नं. १ बाट शाही र क्षेत्र नं. २ बाट देवकोटा



सुर्खेत जिल्ला नेकपा (माओवादी)का प्रतिनिधि सभा उम्मेदवार सिफारिस: क्षेत्र नं. १ बाट शाही र क्षेत्र नं. २ बाट देवकोटा
कमल कुमार शाही
स्वाभिमान खबर,पुष २६
सुर्खेत ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुर्खेतले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटीको बैठकबाट भएको निर्णयअनुसार निर्वाचन क्षेत्र नं. १ बाट हिरु शाही र ( सागर सी ) र निर्वाचन क्षेत्र नं. २ बाट धर्मराज देवकोटा( जित सी ) लाई प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
पार्टीले दुवै नेताको लामो राजनीतिक सक्रियता, संगठनप्रतिको प्रतिबद्धता र स्थानीय जनसमर्थनलाई आधार मानेर उम्मेदवारी सिफारिस गरिएको जनाएको छ। माओवादी सुर्खेतका अनुसार सिफारिस गरिएका दुवै उम्मेदवार परिवर्तनको आन्दोलनबाट खारिएका र जनमुखी राजनीतिमा विश्वास गर्ने नेता हुन्।

संघर्ष र निरन्तरताको पृष्ठभूमि  हिरू शाही सागर सी 
क्षेत्र नं. १ बाट सिफारिस भएका हिरु शाही माओवादी जनयुद्धकालदेखि नै पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनी तत्कालीन जनमुक्ति सेनामा आबद्ध भई आन्दोलनमा सहभागी भएका थिए। राजनीतिक संघर्षका क्रममा जेल हिरासतसमेत भोगेका शाही शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसपछिका राजनीतिक उतार–चढावमा निरन्तर सक्रिय रहँदै आएका छन्।

युवा नेतृत्वको प्रतिनिधित्व धर्मराज देवकोटा जित सी
क्षेत्र नं. २ बाट सिफारिस भएका धर्मराज देवकोटा युवा पुस्तामाझ लोकप्रिय नेता मानिन्छन्। संगठन निर्माण, विद्यार्थी–युवा आन्दोलन तथा स्थानीय तहका जनसरोकारका मुद्दामा सक्रिय देवकोटालाई पार्टीले भविष्यको सक्षम नेतृत्वका रूपमा अघि सारेको जनाएको छ।

पार्टीको तयारी र अपेक्षा
माओवादी सुर्खेतले आगामी प्रतिनिधि सभा निर्वाचनलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने अवसरका रूपमा लिएको जनाएको छ। पार्टीले सामाजिक न्याय, समानता, रोजगारी, शिक्षा र जनमुखी विकास लाई मुख्य चुनावी एजेन्डा बनाउने तयारी गरेको छ।
पार्टीले सिफारिस गरिएका दुवै उम्मेदवारलाई आगामी निर्वाचनमा विजय हासिल गर्ने अग्रिम शुभकामना व्यक्त गर्दै संगठनलाई एकताबद्ध बनाएर चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार