रुपन्देहीमा अखिल (समाजवादी) को २८औँ जिल्ला सम्मेलन भव्य सम्पन्न, कुमारी नेपालीको नेतृत्वमा ४३ सदस्यीय समिति निर्वाचित
कमल कुमार शाही
स्वाभिमान खबर, षौष १२
रुपन्देही । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध विद्यार्थी संगठन अखिल (समाजवादी) रुपन्देहीको २८औँ जिल्ला सम्मेलन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्लाभरका विद्यार्थी प्रतिनिधि, संगठनका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई नयाँ दिशातर्फ अघि बढाएको छ।
सम्मेलनबाट कुमारी नेपालीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। नवगठित समितिमा विद्यार्थी आन्दोलनलाई मजबुत बनाउने, शैक्षिक क्षेत्रमा देखिएका विकृति–विसंगतिविरुद्ध संघर्ष गर्ने तथा समाज परिवर्तनको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्मेलनले वर्तमान शैक्षिक प्रणालीप्रति गम्भीर समीक्षा गर्दै शिक्षा क्षेत्रलाई श्रम, उत्पादन र समाज रूपान्तरणसँग जोड्नुपर्ने आवश्यकता औँल्याएको छ। निजीकरणमुखी शिक्षा नीतिको विरोध, समान र वैज्ञानिक शिक्षाको पक्षमा सशक्त आन्दोलन निर्माण गर्ने विषय सम्मेलनका प्रमुख एजेन्डा रहेका थिए।
नव निर्वाचित अध्यक्ष कुमारी नेपालीले सम्मेलनपछि बोल्दै विद्यार्थी आन्दोलन केवल कक्षा कोठामा सीमित नभई समाज परिवर्तनको अग्रपङ्क्तिमा उभिनुपर्ने बताइन्। उनले अखिल (समाजवादी) लाई रुपन्देहीमा अनुशासित, संघर्षशील र वैचारिक रूपमा सबल संगठनको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइन्।
सम्मेलनमा सहभागी वक्ताहरूले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनले विद्यार्थी अधिकार, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका पक्षमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अखिल (समाजवादी) रुपन्देहीको यो सम्मेलनलाई विद्यार्थी आन्दोलनको नयाँ उत्साह र संगठनात्मक सुदृढीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्