२०८३ साउन १२ गते मङ्गलवार

अखिल (समाजवादी) कर्णाली प्रदेशको तेस्रो बैठक सम्पन्न



अखिल (समाजवादी) कर्णाली प्रदेशको तेस्रो बैठक सम्पन्न
कमल कुमार शाही
स्वाभिमान खबर मंसिर १५ ।
वीरेन्द्रनगर सुर्खेत। नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) कर्णाली प्रदेश समितिको तेस्रो बैठक आज सुर्खेतमा सम्पन्न भएको छ। प्रदेश इन्चार्ज क. कपिल सीको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार, जिल्लास्तरीय सम्मेलन, शिक्षा सुधार अभियान तथा जिम्मेवारी पुनर्संरचनाबारे महत्वपूर्ण निर्णयहरू पारित गरिएको छ।


बैठकमा प्रमुख अतिथि नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य क. एटम सी, विशेष अतिथि महासचिव क. प्रकाश सी, तथा केन्द्रीय सदस्यहरू क. ध्रुव सी, जीत सी र शंकर सीको उपस्थिति रहेको थियो। बैठक वीर शहीद, घाइते र बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारणबाट सुरु गरिएको थियो।

बैठकमा सहभागी सबै जिल्ला कमिटीका प्रतिनिधित्वहरूले आफ्नो–आफ्नो जिल्ला को रिपोर्ट प्रस्तुत गरेका थिए। प्रतिवेदनका आधारमा कर्णाली प्रदेशमा संगठनको हालको अवस्था, विस्तारित चुनौती र आगामी योजनाहरूमा व्यापक छलफल भएको बैठकले जनाएको छ।

बैठकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा संगठनका सम्मेलनको मिति पनि तोकेको छ। सुर्खेत जिल्ला मध्यपश्चिम विश्वविद्यालयको सम्मेलन मंसिर २८ गते, कालिकोट जिल्लाको सम्मेलन पुस ९ गते र बाँकी सबै जिल्लाको सम्मेलन माघ १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।

संगठनको केन्द्रीय समितिले सञ्चालन गरेको शिक्षा सुधार अभियान–२०८२ लाई कर्णाली प्रदेशभरी प्रभावकारी रूपमा विस्तार गर्ने बैठकले निर्णय गरेको छ। साथै, संगठनभित्र आवश्यक पुनर्संरचना गर्दै विभिन्न जिम्मेवारी तोकिएको छ।

यसअन्तर्गत सुर्खेत जिल्ला (मध्यपश्चिम विश्वविद्यालय) को इन्चार्जमा संगठन सचिवालय सदस्य क. कमल सीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, कर्णाली प्रदेश कार्यवाहक सह–इन्चार्जको जिम्मेवारी क. तुजाराम सीलाई तोकिएको छ।

बैठकको अन्त्यमा प्रदेश इन्चार्ज क. कपिल सीले संगठनलाई सबल, अनुशासित र विद्यार्थी–उन्मुख बनाउन सबै तहबाट सक्रियता आवश्यक रहेको बताउँदै उठेका प्रश्नहरूको जवाफ दिएर बैठक समापन गरेका थिए।

­
अखिल (समाजवादी) कर्णाली प्रदेशले विद्यार्थी हकहित, शिक्षा सुधार र संगठन सुदृढीकरणलाई प्रमुख प्राथमिकताका रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार