माथिल्लो दोगाडेमा पक्की पुल निर्माण सुरु — मुख्यमन्त्री शाह र प्रदेश सभा सदस्य रावल द्वारा संयूक्त सिलन्यास
कमल कुमार शाही
स्वाभिमान खबर , कार्तिक २७अछाम ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–०७ स्थित माथिल्लो दोगाडेमा निर्माण हुन लागेको मोटरेबल पक्की पुलको संयुक्त शिलान्यास सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र प्रदेशसभा सदस्य एवम् पूर्व आर्थिक मामिला मन्त्री अक्कल बहादुर रावलले संयुक्त रूपमा गरेका छन्।

शिलान्यासपछि ठेकेदार कम्पनी भगवती–आर्च जे.भी., बाँकेले पुल निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। उक्त पुल सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, साँफेबगरद्वारा निर्माण भइरहेको हो।
४० मिटर लम्बाइको आरसीसी प्रि–स्ट्रेस्ड (RCC Prestressed) प्रकारको सो पुल एक स्पानमा निर्माण गरिनेछ। निर्माणका लागि कर सहित ६ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सो पुल निर्माण कार्य २०८२ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकार दुर्गम क्षेत्रका जनताको जीवनस्तर सुधारतर्फ पूर्वाधार विकासमार्फत अघि बढिरहेको बताए। उनले भने, “दोगाडे पुल केवल एक निर्माण परियोजना होइन, यो यहाँका जनताको सपना साकार पार्ने माध्यम हो। यसले आवागमन सहज बनाउँदै स्थानीय विकासलाई नयाँ गतिमा अगाडि बढाउनेछ।”

त्यस्तै, प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले पुल निर्माणले दोगाडे, पुल्लेतोला, बारला र आसपासका बस्तीहरूका बासिन्दाको , आर्थिक र सामाजिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले यसै आर्थिक वर्षभित्रै तालागाड खोलामा अर्को पक्की पुल निर्माण प्रक्रिया सुरु गर्ने प्रतिबद्धता पनि जनाए।
नगर प्रमुख अम्बिका चलाउनेले मुख्यमन्त्री र प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै पुलको निर्माण गुणस्तरीय र समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिन्। उनले भनिन्, “यो पुल पूरा भएपछि गाउँबीचको दूरी घट्नेछ, जनजीवनमा सहजता आउनेछ र आर्थिक गतिशीलता बढ्नेछ।”

स्थानीयवासीहरूले पनि पुल निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै सरकार र निर्माण कम्पनीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूका अनुसार पुल बनेपछि यो नगरपालिका का , पुल्लेतोला बारला काले काँडा, र माथिल्लो दोगाडे क्षेत्रका बासिन्दाको दैनिक यात्रा, व्यापारिक आवत–जावत र सेवा पहुँच सहज हुनेछ।
यो परियोजनाको प्रारम्भिक डिपिआर (DPR) सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट र आर्थिक मामिला मन्त्री अक्कल रावलको कार्यकालमा २०७७/७८ सालको बजेटबाट तयार गरिएको थियो। पुल निर्माणका लागि आवश्यक बजेट भने हालका मुख्यमन्त्री कमल शाहको कार्यकालमा २०८१/८२ को बजेटमा सुनिश्चित गरिएको हो।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, राजनीतिक दलका सदस्य, स्थानीयवासी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो














प्रतिक्रिया दिनुहोस्