२०८३ साउन १३ गते बुधवार

जेन्जी आन्दोलनको समर्थनमा एमाले अछामको सद्भाव र्याली, प्रधानमन्त्रीको राजीनामा र संसद पुनर्स्थापनाको माग



जेन्जी आन्दोलनको समर्थनमा एमाले अछामको सद्भाव र्याली, प्रधानमन्त्रीको राजीनामा र संसद पुनर्स्थापनाको माग

कमल कुमार शाही
स्वाभिमान खबर, कात्तिक १३ ।

अछाम
जेन्जी आन्दोलनका मागप्रति ऐक्यबद्धता जनाउँदै नेकपा (एमाले) अछामले मंगलबार मंगलसेनमा सद्भाव र्याली र कोणसभा सम्पन्न गरेको छ। आन्दोलनका जायज मागहरूलाई समर्थन गर्दै एमालेले प्रधानमन्त्री सुशीला कार्कीले तत्काल राजीनामा दिई मार्ग प्रसस्त गर्नुपर्ने र संसद पुनर्स्थापना गर्नुपर्ने माग गरेको हो।

मंगलसेन बजारमा आयोजित सद्भाव र्यालीमा सहभागीहरूले “संविधानको रक्षा गर”, “जनताको आवाज सुन्ने सरकार चाहियो” र “जेन्जी आन्दोलनका माग पूरा गर” जस्ता नारा लगाएका थिए। कोणसभामा नेताहरूले हालको सरकार असंवैधानिक ढंगले बनेको भन्दै यो सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने ठहर गरेका थिए।

र्याली र कोणसभा सम्पन्न गरेपछि नेकपा (एमाले) अछामले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा जेन्जी आन्दोलनका मागहरू तत्काल पूरा गर्न, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा तदारुकता देखाउन, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरूको पहिचान गरी कानूनी कारबाही गर्न र संसद पुनर्स्थापना गर्नुपर्ने मागहरू समावेश गरिएको छ।

ज्ञापनपत्र नेकपा (एमाले) अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले वाचन गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाउनुभएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपटबहादुर बोहरा, केन्द्रीय सदस्य एवं क्षेत्र नं. २ का इन्चार्ज यज्ञबहादुर बोगटी, केन्द्रीय सदस्य कमल तिमिल्सिना, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, पूर्व जिल्ला अध्यक्ष चन्द्रबहादुर बोहरा, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटी सदस्य तथा विभिन्न जनवर्गीय संगठनका प्रमुखहरूको उपस्थिति रहेको थियो।

एमालेले देशभर असंवैधानिक सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलनका माध्यमबाट जनताको आवाज बुलन्द गर्ने घोषणा गर्दै, संविधान र लोकतान्त्रिक मूल्यको रक्षा सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार