२०८३ साउन १३ गते बुधवार

वर्तमान परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न



वर्तमान परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कमल कुमार शाही
स्वाभिमान खबर, अछाम — असोज २४

कमलबजारमा देशको वर्तमान राजनीतिक अवस्था, आन्दोलनका उपलब्धि र आगामी निकासबारे आयोजित अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, बौद्धिक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले देश गम्भीर मोडमा पुगेको र अबको निकासका लागि वैचारिक स्पष्टता तथा एकता अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

“पुरानै अनुहार फर्किए, निकास सम्भव छैन” — निरक सी

सर्वपक्षीय भेलामा नेकपा अछाम जिल्ला सचिव निरक सी ले बिद्रोह जेनजीले गरे पनि सत्तामा पुरानै अनुहार फर्किएको बताउँदै, “नेतृत्वको मात्र हेरफेरले देशमा निकास आउँदैन,” भन्नुभयो।
उहाँले हालको व्यवस्था र संविधान असफल भइसकेको दाबी गर्दै नयाँ र अग्रगामी निकासका लागि देशभर बिस्तृत विमर्श आवश्यक रहेको औंल्याउनुभयो।

कम्युनिस्ट आन्दोलनको एकता र राष्ट्रिय स्वाधीनताको मुद्दा मुख्य

कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शिवराज बज्गाईँ ‘शितल’ ले देशको अस्तित्व नै प्रश्नमा परेको बताउँदै पटक–पटक भएका आन्दोलनहरूले केवल सरकार परिवर्तन गरेको तर प्रणालीगत सुधार गर्न नसकेको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, “७६ जनाको बलिदान भएको जेनजी आन्दोलन उपलब्धिविहिन बन्ने खतरा छ। अधुरो क्रान्ति पूरा गर्न र राष्ट्रिय स्वाधीनताको आन्दोलन सफल पार्न कम्युनिस्टहरूले सानातिना स्वार्थ त्याग्नुपर्छ।”

“संसदीय व्यवस्थाबाट निकास सम्भव छैन” — लोकेन्द्र सी

त्यस्तै, नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य लोकेन्द्र ले देश संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै संविधान निर्माणदेखि नै आफूहरूले चेतावनी दिएको संकट अहिले प्रत्यक्ष देखिएको बताउनुभयो।
उहाँको भनाइमा, “संसदीय व्यवस्थाबाट देशलाई निकास दिन सकिँदैन। नयाँ सामाजिक व्यवस्थातिर जानुको विकल्प छैन ”

“राज्य संयन्त्र नै बिकिसकेपछि जनता असुरक्षित” — बोहरा

कार्यक्रममा कमलबजार नगरपालिका–१ का अध्यक्ष भक्तबहादुर बोहरा ले जेनजी आन्दोलनका मागहरू पूरा नभएको र सेना–प्रहरीजस्ता संयन्त्र नै बिकिसकेपछि देश र जनताको सुरक्षा संकटमा परेको बताउनुभयो।
उहाँले दलहरूले समीक्षा गरेर, सच्चिएर र एकताबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको धारणा राख्नुभयो।

कार्यक्रममा अखिल समाजवादी केन्द्रीय सचिवालय सदस्य नरेश भण्डारी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य भरत विश्वकर्मा, नेकपा अछाम सल्लाहकार किरण बुढा लगायतका नेताहरूले पनि आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन नगर इन्चार्ज पदम बिष्ट ले गर्नुभएको थियो भने अध्यक्षता नेकपा अछाम सचिव निरक सी ले गर्नुभएको थियो।

सामूहिक तस्बिरले दियो एकताको सन्देश
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच सामूहिक तस्बिर खिचिँदै कार्यक्रम सम्पन्न गरिएको थियो। तस्बिरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक अगुवा, पत्रकार र समाजसेवीहरू देखिन्थे, जसले सहकार्य र वैचारिक एकताको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

तस्बिरमा:

कमलबजारमा सम्पन्न ‘वर्तमान परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रम’मा सहभागी अतिथि तथा आयोजकहरू सामूहिक तस्वीरमा।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार