भदौ २३ मा माइतीघरमा जेनजी पुस्ताको सडक विद्रोह
देपेन्द बहादुर शाही
स्वाभिमान खबर ,२२ भदौ
काठमाडौं । सामाजिक सञ्जालमै सीमित हुँदै आएको जेनजी पुस्ताले अब भर्चुअल आक्रोशलाई सडकमा उतार्ने तयारी गरेका छन् । उनीहरूले २३ भदौ (८ सेप्टेम्बर) सोमबार माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचार र असमानताविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र नेताका छोराछोरीको विलासी जीवनशैली उजागर गर्ने ‘नेपो बेबी ट्रेण्ड’ नै यस आन्दोलनको जरो मानिएको छ । टिकटक र फेसबुकमार्फत फैलिएको यो अभियानलाई देशभरका युवाले साथ दिइरहेका छन् ।
काठमाडौंका साथै पोखरा, धरान, इनरुवा लगायतका सहरमा पनि जेनजीले आन्दोलनको तयारी गरेको सार्वजनिक भइसकेको छ । कुनै दल वा संगठनको झण्डा नभई स्वतःस्फूर्त रूपमा सुरु भएको यो आन्दोलनलाई पुराना पुस्ताका नागरिकले समेत समर्थन जनाइरहेका छन् ।
समाजशास्त्रीहरूका अनुसार, जेनजीले नेताका सन्तानको विलासिता र आम नेपाली युवाको संघर्षबीचको तुलना गरेर असमानताको जरो देखाउने प्रयास गरेका छन् । यसलाई उनीहरूले नयाँ पुस्ताको राजनीतिक चेतनाको उभारको संकेतका रूपमा व्याख्या गरेका छन् ।
अब सोमबारको उपस्थिति नै निर्णायक हुनेछ—जेनजी पुस्ताको यो आक्रोश केवल हल्ला हो कि साँच्चिकै नेपालमा राजनीतिक संस्कृतिलाई चुनौती दिने नयाँ अध्याय सुरु हुन्छ भन्ने प्रश्न सबैको चासो बनेको छ ।













प्रतिक्रिया दिनुहोस्