सुर्खेतमा नेकपाको एमसीसी विरुद्ध विरोध कार्यक्रम सम्पन्न
कमल कुमार शाही
स्वाभिमान खबर साउन ३० , शुक्रबार, सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कोरपोरेशन (एमसीसी) लाई नेपाल र नेपालीका लागि घातक भन्दै कुनै हालतमा कार्यान्वयन हुन नदिने अडान लिएको छ। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टी निकट अखिल (समाजवादी) र युवा संगठन कर्णाली प्रदेश समितिले आयोजना गरेको विरोध कार्यक्रममा पार्टी नेतृत्वले स्पष्ट रुपमा यस्तो घोषणा गरेको हो।
विरोध कार्यक्रमको सुरुवात मंगलगढीबाट भएको थियो, जसमा सहभागीहरूले बिच बजार हुँदै यरिचोकसम्म र्याली निकालेर एमसीसी विरोधी नाराबाजी गरेका थिए। र्यालीपश्चात आयोजित कोणसभामा नेकपाका पोलिटब्युरो सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज एटम सीले एमसीसी नेपालको हितविपरीत रहेको दाबी गर्दै भने,
“संसदवादी दलहरूले दवावमा आएर यो परियोजना अघि बढाएका छन्। नेपालमा स्थगित भइसकेको एमसीसी पुनः सक्रिय बनाइएको छ, तर हामी यसको कार्यान्वयन रोक्नेछौं।”
उनले एमसीसीलाई विकासको नाममा देखाइएको ‘ललिपप’ भन्दै यसको भित्री उद्देश्य नेपालको सामरिक भूगोल कब्जा गर्नु रहेको आरोप लगाए। उनका अनुसार, सम्झौतामा रहेका निम्न विवादास्पद प्रावधानहरूले यसलाई राष्ट्रघाती बनाउँछन्—
एमसीसी र नेपालको कानुन बाझिएमा एमसीसीको प्रावधान लागू हुने
अमेरिकी कानुनहरू परियोजनामा लागू हुने
विवादहरूको कानुनी पुर्पक्ष अमेरिकामा मात्र हुने
परियोजनाका रोजगारमा नेपालको श्रम कानुन नलाग्ने
परियोजनाको लेखापरीक्षण नेपालले गर्न नपाउने
बौद्धिक सम्पत्तिमा पूर्णरुपमा अमेरिकाको स्वामित्व रहने
एटम सीले यी प्रावधानहरूले नेपालको सार्वभौमिकता र स्वाधीनता कमजोर पार्ने स्पष्ट दाबी गर्दै नेकपाले यसको कार्यान्वयन रोक्न जनस्तरमै आन्दोलन गर्ने बताए।
त्यस्तै, अखिल (समाजवादी) का कर्णाली प्रदेश इन्चार्ज प्रकाश सीले अत्याधुनिक हतियारको डर वा धम्की देखाएर अमेरिकाको दास नबन्ने अठोट व्यक्त गरे। उनले भने,
> “जबर्जस्ती एमसीसी लाद्न खोजे नेकपा र आम जनताले आफ्नो हातमा भएको साधनलाई नै हतियार बनाएर प्रतिरोध गर्नेछन्।”
कार्यक्रममा ‘नेकपा जिन्दावाद’, ‘एमसीसी खारेज गर’, ‘अमेरिकी हस्तक्षेप बन्द गर’, ‘गो ब्याक अमेरिका’ लगायतका नाराहरु गुञ्जिएका थिए।
विरोध कार्यक्रममा पार्टीको स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशील सीको विशेष उपस्थिति थियो। कोणसभाको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा सुर्खेत जिल्ला सचिव जित सी र युवा संगठनका प्रदेश इन्चार्ज मिनेश सीले संयुक्त रुपमा गरेका थिए।













प्रतिक्रिया दिनुहोस्