नेताको एकता होइन, वैचारिक पुनर्जागरण चाहिएको छ- बाबुराम भट्टराई
स्वाभिमान खबर , असार २७ काठमाडौं
माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच पछिल्लो चरणमा एक सोच झांगिँदै गएको देखिन्छ—
‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुन सके सबैथोक ठीक हुन्छ।’
यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोच हो। यसबारे तथ्य र तर्क सहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ, जुन समयक्रममा हुँदै जाला। अहिले चाहिँ केही सरल प्रश्न–उत्तरको रूपमा प्रस्तुत गर्नु उपयुक्त ठान्दछु।
१. नेपालको माओवादी आन्दोलन सफल हो कि असफल?
संक्षेपमा भन्ने हो भने, नेपालको माओवादी आन्दोलन सापेक्ष रूपमा निकै सफल आन्दोलन हो।
विश्वमै सन् १९७५ को क्याम्बोडियाको क्रान्ति (जुन पछि पथभ्रष्ट भयो!) पछि, बिसौं शताब्दीको अन्त्य र एक्काइसौंको सुरुवातमा नेपालमै मात्र एक सफल सशस्त्र क्रान्ति भएको हो।
स्मरण रहोस् —
पेरू, भारत, टर्की, फिलिपिन्स लगायत देशका यस्तै माओवादी आन्दोलनहरू ध्वस्त भइसकेका छन् वा अस्तित्व संकटमा छन्।
नेपालमा भने निर्वाचित संविधानसभाबाट संविधान निर्माण, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, महिला–दलित अधिकारको संवैधानिक सुनिश्चितता जस्ता ऐतिहासिक उपलब्धिहरू सम्भव भएका छन्।
२. कुन अर्थमा सफल? अनि किन ‘सापेक्ष रूपले’ मात्र सफल?
क्रान्तिमा थुप्रै मागहरू हुन्छन्—कुनै प्रमुख, कुनै सहायक।
२०५२ सालको जनयुद्धका ४० सूत्रीय मागहरूमध्ये ‘जनतन्त्र’ सम्बन्धी मागहरू प्रमुख थिए।
त्यसमध्ये पनि संविधानसभाबाट गणतन्त्रात्मक संविधान बनाउने कुरा नै प्रमुख माग थियो, जुन पूरा भयो।
तर,
पार्टीभित्र समयमै स्पष्टता, एकता र रणनीतिक दृढता हुन नसक्दा थप उपलब्धिहरू गुमिए।
त्यसैले राजनीतिक रूपमा सफल भए पनि, फौजी रूपमा पूर्ण विजय नहुनु र ‘शान्ति–सम्झौतामार्फतको उपलब्धि’ भएकाले यसलाई ‘सापेक्ष रूपले सफल’ मान्नु यथार्थपरक हुन्छ
३. तत्कालीन माओवादी पार्टीभित्र मुख्य गल्ती कहाँ भए त?
● २०६४ साल बालाजु बैठक:
क. प्रचण्डले प्रयोग गरेको “मुखमा संविधानसभा, मनमा सशस्त्र विद्रोह” भन्ने दोधारे भनाइले पार्टी र जनसमर्थनमा भ्रम फैलायो।
● २०६७ पालुंगटार बैठक:
बाबुरामको ‘संविधान निर्माण’, किरणको ‘विद्रोह’, र प्रचण्डको ‘पर्ख र हेर’—तीन लाइनको टकरावले पार्टी निर्णयविहीन रह्यो।
● २०६९ जेठ २:
मैले प्रधानमन्त्री हुँदा कांग्रेस, एमालेसँग मिलेर संविधानका सबै विवादित बुँदामा सहमति गरें।
तर पार्टीभित्रकै विरोधले त्यो इतिहासमै स्थापित हुने संविधान जारी हुन पाएन।
यदि त्यो दिन संविधान जारी भएको भए, माओवादी आन्दोलनको शिखर त्यही हुन्थ्यो।
४. विश्वमा असफल माओवादी आन्दोलनहरूबीच नेपालमा सफलताको कारण के?
किनभने हामीले ‘वाद’ लाई जडसूत्रको रूपमा होइन, मार्गदर्शक विज्ञानको रूपमा लियौं।
हामीले वर्गसँगै जाति, क्षेत्र, लिंग, समुदाय सबैलाई समेट्यौं।
गाउँ र शहर, खुला र भूमिगत, सशस्त्र र शान्तिपूर्ण, संसदीय र गैरसंसदीय रणनीति मिलाएर अघि बढ्यौं।
मुख्यतः, रणनीतिमा दृढ र कार्यनीतिमा लचिलो भएर अघि बढ्ने रणनीतिले नै नेपाली माओवादी आन्दोलनलाई सफलताको सिंढी चढायो।
५. त्यत्रो क्रान्तिकारी आन्दोलन अहिले कसरी स्खलित भयो त?
पूरै स्खलन होइन—क्रान्तिको एउटा चरण पूरा भएर अर्को चरणमा प्रवेश भएको हो।
अब नेपालको क्रान्ति समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरिसकेको छ।
तर,
पार्टी नेतृत्वभित्र वैचारिक अस्पष्टता, सांस्कृतिक विचलन, र
सत्ताको संसदीय खेलमा स्वार्थ समूहहरूको प्रभाव झन बलियो हुँदै जानुले आन्दोलन स्खलितजस्तै देखिएको हो।
यो विषवृक्ष जनयुद्धकालमै उम्रिएको थियो, अहिले झन् फैलिएको मात्र हो।
६. अब माओवादी आन्दोलनलाई कसरी पुनर्गठित गर्ने त?
अब हामी चौथो औद्योगिक क्रान्तिको युगमा छौं।
नेपाल किनाराको पुँजीवाद (Peripheral Capitalism) मा बाँधिएको छ।
यसको समाधान गर्न पुरानै ‘माओवाद’को घेरा भित्र बस्न मिल्दैन।
हामीले
विगतका कम्युनिस्ट सत्ताहरू किन ढले?
संसदीय कम्युनिज्म किन सकिँदै गइरहेको छ?
भन्ने कुराहरूको समीक्षा गरी
देशकाल सापेक्ष नयाँ वैकल्पिक राजनीतिक संश्लेषण गर्नुपर्छ।
यही आधारमा हामीले अघि सारेको नयाँ शक्ति अभियानको औचित्य रहेको छ।
ध्यान दिनुहोस् —
नेता तयार भएपछि विचार र आन्दोलन बन्दैन।
विचारले आन्दोलन बनाउँछ, आन्दोलनले नेता जन्माउँछ।
फेरि त्यही चक्र दोहोरिएर नयाँ विचार, नयाँ आन्दोलन, नयाँ नेतृत्व उदाउँछ।
त्यही नै परिवर्तनको ऐतिहासिक नियम हो।
स्रोत – बाबुराम भट्टराई
#अबआँखाखोलौं













प्रतिक्रिया दिनुहोस्