निर्माण नसकी भाँचियो पुल, रामेछापको मन्थलीमा तामाकोसीमाथिको संरचना ढल्यो
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर, असार ८ – रामेछाप
रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ र ७ जोड्ने तामाकोसी नदीमाथि निर्माणाधीन पुल निर्माण नसकी भाँचिएको छ। निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा रहेको पुलको एक हिस्सा आज बिहान भत्किएको हो।
कुनौरी र मुगिटार क्षेत्रलाई जोड्ने उद्देश्यले निर्माण भइरहेको सो पुलमा चार वटा स्लाबमध्ये एक स्लाब अचानक भाँचिएर पुलको संरचना भत्किएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले झण्डै ८० प्रतिशत काम सकिएको जानकारी दिँदै आएको थियो। तर, स्लाब भाँचिएपछि अब पूरै संरचनाको मूल्यांकन गर्नुपर्ने अवस्था आएको छ।
स्थानीयवासीहरू भन्छन्, “नदीमा पुल बन्ने आशामा थियौं, अब फेरि वर्षौं कुर्नुपर्ने हो कि भन्ने चिन्ता लागेको छ।”
पुल निर्माणमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, प्रविधि र निगरानीको अभावले यो दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक अनुगमनपछि दोषी पत्ता लगाएर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने बताए।
पुल भाँचिएपछि आसपासका बस्तीमा त्रास फैलिएको छ भने वैकल्पिक आवागमन व्यवस्था मिलाउन जिल्ला प्रशासनले पहल थालेको छ।














प्रतिक्रिया दिनुहोस्