बिउ बाँचेको छ, तर बीउ रोप्नेहरू परदेशमा छन्”
“यदि बिदेशीएका युवाहरु हाम्रो देश फर्किए भने अनि विदेशी सिप र प्रविधिलाई नेपाली माटोमा मिसाए, भने त्यो दिन नेपालको खेती आत्मनिर्भर मात्रै होइन, आधुनिक र व्यावसायिक पनि हुनसक्छ”
नेपाललाई परम्परागत रूपमा “कृषि प्रधान देश” भनिन्छ, तर यथार्थमा यो कागजमा मात्र सीमित जस्तो देखिन्छ। उर्वर भूगोल, विविध मौसम र पुरातन कृषि परम्परा हुँदाहुँदै पनि नेपालले वार्षिक अरबौं रुपैयाँ बराबरको खाद्यान्न आयात गरिरहेको छ। खेतीयोग्य जमिन बाझो छ, र शहरीकरणले जमिन मासिँदै गएको छ । “पढेलेखेको मान्छेहरुले हलो जोत्न हुँदैन” हाम्रो समाजले वर्षौं यिनै शब्दहरू दोहोर्याइरह्यो।
यस कथनले हाम्रो चेतनामा गहिरो असर पार्यो। हाम्रा हातहरू कलम चलाउन सिपालु भए, तर हलो समाउने संकोचपूर्ण भए खेत जोत्न लाज लाग्ने काम जस्तो बनाइयो।
आज हामी आधुनिकताको नाममा विदेशी ब्रान्डको चकचके पेकेटमा बेरिएका खाना रोज्छौं।कोदोको ढिंडो होइन प्लास्टिकको प्याकेटमा भएको पास्ता खान रुचाउँछौं रैथाने अन्न बालीहरू जस्तै मार्सी धान, कोदो, फापर, चिनु कागुनी , उवा, जौ , झुमरो आदि लोपोन्मुख अवस्थामा छन्, र आफ्नो खेत बारीमा श्रम गर्ने अथवा कृषि श्रमिक बन्नुपर्ने युवाशक्ति विदेश पलायन भइरहेको छ। फलस्वरूप, नेपाल युवा निर्यात र खाद्यान्न आयात गर्ने देश बनेको छ।
हजारौं नेपाली युवा आज युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान र खाडी मुलुकहरूमा छन्। उनीहरू विहानै उठ्छन्, अर्काको उद्योग ,कल कारखाना ,ब्यावसायिक फम ,खेत बारीमा गह्रौँ काम गर्छन्, घाम–पानी बेवास्ता गरेर पसिना बगाउँछन्। उनीहरूको मेहनतले विदेशीले सम्पत्ति आर्जन गर्छन र मालिकहरू धनी बन्छन्।
तर सोचौं त, त्यो एउटै हात, एउटै पसिना र एउटै सिप यदि आफ्नै देशको खेत बारी र अन्य उत्पादन क्षेत्रमा लगाइयो भने, किन नहुने? के हामी उद्द्मी बनेर मालिक बन्न सक्दैनौं?
विदेशले तलब दिन सक्छ, तर आफ्नै देशले स्वाभिमान र पहिचान दिन्छ। अथवा विदेशको पैसा कति समय टिक्छ? तर नेपाली माटोमा रोपिएको श्रम र पसिनाले सदियौँ टिक्ने आत्मनिर्भरता दिन सक्छ।
आजको यथार्थ के हो भने नेपालको जमिन बाँझो छ, तर युवा विदेशमा छन्। यदि बिदेशीएका युवाहरु हाम्रो देश फर्किए भने अनि विदेशी सिप र प्रविधिलाई नेपाली माटोमा मिसाए, भने त्यो दिन नेपालको खेती आत्मनिर्भर मात्रै होइन, आधुनिक र व्यावसायिक पनि हुनसक्छ ।नेपालका प्रमुख पोषणयुक्त रैथाने बालिहरुको छुट्टै महत्त्व छ ।
१. धान
नेपालको प्रमुख अन्नबाली हो। यसमा पनि विभिन्न रैथाने जातहरू छन् – मार्सी, कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअनदी, थापाचिनी र स्यामजिरा लगायतका स्थानीय जातका, मसिनो आदि।
विशेष गरी मार्सी धान हिमाली क्षेत्र जुम्लामा उब्जने स्वादिलो, सुगन्धित र पौष्टिक जात हो जसमा औषधीय गुण छन्। यसलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सकिन्छ।
२. मकै
पहाडी क्षेत्रमा मकै मुख्य खाद्यान्न बाली हो। कट्टहरे, भोटे मकै, रातो मकै जस्ता जातहरू स्वादिष्ट, पचाउन सजिला, र स्वास्थ्यवर्द्धक छन्। यी जातहरूमा उच्च फाइबर, एन्टिअक्सिडेन्टजस्ता तत्वहरू पाइन्छन्।
३. गहुँ
नेपालमा जाडो याममा गहुँ खेती गरिन्छ। लम्सी गहुँ, कालो गहुँ, खैरो गहुँ जस्ता रैथाने जातहरूमा प्रोटिन, खनिज र रोगप्रतिरोधी क्षमता बढाउने तत्वहरू छन्।
४. कोदो
सुक्खा क्षेत्रका लागि उपयुक्त यो अन्न क्याल्सियम र आइरनको भरपूर स्रोत हो। डाइबेटिक बिरामीका लागि लाभदायक यो बालीबाट ढिंडो, कोदोको रक्सी आदि बनाइन्छ।
५. फापर
उच्च पहाडमा उत्पादन हुने फापर ग्लूटेन फ्री अन्न हो। यसले हृदय स्वास्थ्यमा सुधार ल्याउँछ र शरीरलाई ऊर्जा प्रदान गर्छ। युरोप र अमेरिका जस्ता मुलुकहरूमा यसको माग अत्यधिक छ।
६. चिनु
हाल लोपोन्मुख अवस्थामा पुगेको चिनु अन्नमा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ। यसलाई पुनः प्रोत्साहनद्वारा बजारमा पुन:स्थापित गर्न सकिन्छ।
७. कागुनी
उच्च हिमाली क्षेत्रमा उब्जिने कागुनी खिर वा खाजाका रूपमा प्रयोग गरिन्छ। यसको सादगीपूर्ण स्वाद र सुपाच्य गुणले यसलाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्रान्ड को रूपमा चिनाउन सकिन्छ।
८. उवा
विशेष गरि हिमाली क्षेत्रमा उब्जने उवा जौ जस्तै देखिने तर स्वादमा फरक अन्न हो। यसमा स्थानीय स्वाद र पौष्टिकता रहेको हुन्छ । यसको सातु खानमा राम्रो हुन्छ ।
९. झुमरो
धेरै प्राचीन अन्न हो जुन हाल लोप हुने अवस्थामा छ। यसमा औषधीय गुणहरू पाइन्छ भन्ने विश्वास छ। यसलाई यसको खिर भात खान सकिन्छ।
११जौ – उच्च हिमाली क्षेत्रमा उत्पादन हुने यो अन्न हृदयका लागि लाभदायक मानिन्छ। यसबाट टुसाउने जौको सूप, बियर, र आटा उत्पादन गरी निर्यात गर्न सकिन्छ।
यी अन्नबालीहरूमा औषधीय गुण, रोगप्रतिरोधात्मक क्षमता, र जैविक उत्पादनको सम्भावना अत्यधिक छ। उदाहरणका लागि, फापर डाइबेटिक बिरामीहरूका लागि उपयोगी छ भने कोदो हड्डी मजबुत बनाउने क्याल्सियमयुक्त अन्न हो। यस्ता गुणहरूलाई आधार बनाएर यी अन्नहरूलाई नेपाली ब्राण्डअन्तर्गत निर्यात गर्न सकिन्छ।
यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन अखिल ( समाजवादी ) जिल्ला समिति बर्दियाले एकीकृत सामुहिक स्वामित्वमा आधारित गुलरिया नगर पालिका ४ तुलापुरमा रहेको सी: सप्लायर्स सन्चालनमा ल्याएको छ ।
आजकालका नानीबाबुहरू जङ्क फुडको अत्यधिक सेवनले स्वास्थ्यमा समस्या भोगिरहेका छन्। यस्तो अवस्थामा हामीले कर्णाली क्षेत्रको पोषणयुक्त र परम्परागत अन्न कोदो लाई पुनः प्रवर्द्धन गर्ने प्रयास गरेका छौं। स्थानीय सरकार तथा विद्यालयसँग समन्वय गरेर जिल्ला भित्रका विद्यालयहरुमा सुजिको सट्टा कोदोको हलुवा खाजाको रूपमा खुवाउन थालिएको छ।
यस पहलको उद्देश्य केवल परम्परागत बालीको संरक्षण मात्र नभई बालबालिकालाई पोषणयुक्त आहार प्रदान गर्दै उनीहरूको शारीरिक र मानसिक वृद्धि–विकासमा सहयोग पुर्याउनु पनि हो। कोदोजस्ता रैथाने बालीहरूमा प्रशस्त मात्रामा फाइबर, प्रोटिन, मिनरल्स र भिटामिन पाइन्छ, जसले बच्चाको समग्र विकासमा सकारात्मक प्रभाव पार्दछ।
त्यसैले यस्ता रैथाने बालीहरूको महत्व बालबालिकालाई सानैदेखि बुझाउन आवश्यक छ। यसको लागि विद्यालयको पाठ्यक्रममा रैथाने बालीसम्बन्धी ज्ञान समावेश गरिनु अत्यावश्यक छ, जसले बालबालिकामा पोषण, कृषि र संस्कृतिप्रतिको चेतना विकास गर्न मद्दत गर्छ।
निष्कर्ष :
नेपालको उर्वर माटो, रैथाने बीउ र श्रमशक्तिलाई सम्मान नगरी आत्मनिर्भरता सम्भव छैन। विदेश पलायन होइन, स्वदेश फर्केर कृषि र उत्पादनमा आधारित राष्ट्र निर्माण नै आजको आवश्यकता हो। हाम्रो माटो नै हाम्रो पहिचान र सम्भावनाको बीउ हो—अब यसलाई बचाउने र फुलाउने बेला आएको छ।
अखिल ( समाजवादी )
केन्द्रीय सदस्य तथा बाँके बर्दिया जिल्ला इन्चार्ज
हरि प्याकुरेल (सी )













प्रतिक्रिया दिनुहोस्