कर्णाली-सुदूरपश्चिमलाई सिधा जोड्ने मार्गतर्फ ठूलो फड्को: मुख्यमन्त्री कँडेलद्वारा मुलपानी–रानिघाट सडक स्तरोन्नति कार्य शुभारम्भ
कमल कुमार शाही
स्वाभिमान खबर , ११ जेठ
सुर्खेत वीरेन्द्रनगर – कर्णाली प्रदेशलाई लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने रणनीतिक महत्वको सडक स्तरोन्नतिको काम प्रारम्भ भएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आइतबार सुर्खेतको फलेटीस्थित वीरेन्द्रनगर–२ मा आयोजित शिलान्यास कार्यक्रममा ७ किलोमिटर लामो मुलपानी–रानिघाट सडकखण्डको स्तरोन्नति कार्यको समुद्घाटन गरेका हुन्।
उक्त सडक खण्ड मुलपानी–फलेटी–रानिघाट हुँदै तेलपानी–भुरिगाउँसम्म विस्तार हुने योजना रहेको छ। यस सडकको स्तरोन्नतिले सुर्खेतबाट बर्दियाको भुरिगाउँ नाकामार्फत सुदूरपश्चिम प्रदेश पुग्न सहज र छोटो मार्ग सुनिश्चित गर्ने विश्वास गरिएको छ। सडकले पूर्णता पाएको खण्डमा अब बाँकेको कोहलपुर हुँदै बर्दिया वा सुदूरपश्चिम जानुपर्ने बाध्यता हट्नेछ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कर्णालीको समृद्धिका लागि भौतिक पूर्वाधार सञ्जाल विस्तार अपरिहार्य भएको उल्लेख गर्दै प्रदेश सरकारले सडक, पुल तथा यातायात संरचनामा प्राथमिकता दिएको बताए। “हाम्रो लक्ष्य कर्णालीलाई सुलभ, सुरक्षित र छरितो यातायात सञ्जालसँग जोड्नु हो,” उनले भने।
उक्त सडक स्तरोन्नति कार्य प्रदेश सरकार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र पूर्वाधार विकास निर्देशनालयको संयोजनमा सम्पन्न हुँदैछ। कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका अधिकारी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
यस योजनाबाट कर्णाली, लुम्बिनी र सुदूरपश्चिमबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्पर्कलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्