डा. विश्व पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त
कमल कुमार शाही
स्वाभिमान खबर , जेठ ६
काठमाडौं , नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको जिम्मेवारी डा. विश्वनाथ (विश्व) पौडेलले पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।
तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नर पदका लागि तीन जनाको नाम प्रस्ताव गरेको थियो। तीमध्ये डा. पौडेललाई छनोट गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। समितिले निलम ढुंगाना र डा. दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो।
गभर्नर नियुक्तिको विषयमा मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको थियो। सोही छलफलपछि सहमति जुटाएर सिफारिस प्रक्रिया अघि बढाइएको हो।
सिफारिस समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेल थिए। समितिले बैठक गरी तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते अवकाशमा गएपछि गभर्नर पद रिक्त थियो। नियुक्ति ढिलाइ भएकाले सरकारले चौतर्फी आलोचना भोग्नु परेको थियो। सामाजिक सञ्जालमा बहस चर्किएपछि कांग्रेस सभापति देउवाले नियुक्ति ढिलाइ सरकार वा कांग्रेसका कारण नभई आन्तरिक प्रक्रियाका कारण भएको बताएका थिए।
डा. विश्व पौडेल चितवन निवासी हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट कांग्रेसका उम्मेदवार बनेका थिए तर तेस्रो स्थानमा सीमित भएका थिए।
राजनीति प्रवेश गर्नु अघि उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। योजना आयोगमा कार्यरत रहँदा उनले विकास योजनाहरूमा सुधार ल्याउन विभिन्न पहल गरेका थिए।
अब गभर्नरको हैसियतमा डा. पौडेलले राष्ट्र बैंकको आर्थिक नीति र बैंकिङ प्रणालीमा सशक्त नेतृत्व दिने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्