२०८३ जेष्ठ १९ गते मङ्गलवार

बंगलादेश सरकार प्रमुख युनुसको भनाइ : ‘जलविद्युत्मा नेपालसँग सशक्त सहकार्य सम्भव’



बंगलादेश सरकार प्रमुख युनुसको भनाइ : ‘जलविद्युत्मा नेपालसँग सशक्त सहकार्य सम्भव’

कमल कुमार शाही
स्वाभिमान खबर , वैशाख २९, ढाका

बंगलादेश सरकारका प्रमुख प्रधानमन्त्री तथा प्राध्यापक मुहम्मद युनुसले जलविद्युत्, विकासमा नेपालसँग दिगो र सशक्त सहकार्य गर्न सकिने बताएका छन्।

बंगलादेश भ्रमणमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग ढाकामा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन्। प्रमुख युनुसले नेपाल, बंगलादेश, भूटान र भारतको उत्तरपूर्वी सात राज्यबीचको एकीकृत आर्थिक सहकार्य योजनाले सम्पूर्ण क्षेत्रलाई दीर्घकालीन फाइदा पुर्‍याउने विश्वास व्यक्त गरे।

“हामी छुट्टाछुट्टैभन्दा सँगै भएर अघि बढ्यौँ भने जलविद्युत्, स्वास्थ्य र सडक पूर्वाधारमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छौँ,” उनले भने।

उनले नेपालको जलविद्युत् क्षेत्रमा बंगलादेशले लगानी र व्यापारिक सहकार्य विस्तार गर्न चाहेको बताए। गत वर्ष अक्टोबरमा नेपाल, बंगलादेश र भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार भारतको ग्रीडमार्फत ४० मेगावाट नेपाली विद्युत् बंगलादेशमा पठाउने सहमति उल्लेखनीय उपलब्धि भएको उनले स्मरण गरे।

स्वास्थ्य क्षेत्रमा समेत बंगलादेश क्षेत्रीय समन्वयको पक्षमा रहेको उनले बताए। “हामीले रङ्गपुरमा निर्माण गर्न लागेको एक हजार शय्याको अस्पताल नेपाल र भुटानका बिरामीका लागि पनि लक्षित हुनेछ,” युनुसले भने, “स्वास्थ्यको पहुँच र गुणस्तर सुधारमा क्षेत्रीय सहकार्य अपरिहार्य छ।”

भेटमा उपसभामुख इन्दिरा रानाले नेपालको तर्फबाट बंगलादेशसँग द्विपक्षीय सम्बन्ध र बहुआयामिक सहकार्य विस्तारमा उच्च प्राथमिकता रहेको बताइन्। “नेपालका सांसदहरू बंगलादेशसँग निकट सहकार्यको आकांक्षामा छन्। आर्थिक, शैक्षिक र जनस्तरको सम्बन्ध विस्तारमा हामी गम्भीर छौं,” रानाले भनिन्।

उनले हाल बंगलादेशका विभिन्न मेडिकल कलेजहरूमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी अध्यनरत रहेको उल्लेख गर्दै शैक्षिक क्षेत्रमा सहकार्यको सम्भावनालाई पनि जोड दिइन्।

दुवै पक्षबीच पूर्वाधार तथा सडक सञ्जाल विस्तारको विषयमा पनि छलफल भएको उपसभामुखको सचिवालयले जनाएको छ। प्रमुख युनुसले सडक सञ्जालको विस्तारले नेपालका लागि व्यापारिक लाभ अभिवृद्धि गर्ने धारणा राखे।

यसो हुँदा नेपाल र बंगलादेशबीच आर्थिक, सामाजिक र भौतिक अन्तरसम्बन्ध थप बलियो बनाउने सम्भावना झन् प्रस्टिएको देखिन्छ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार