भारत भ्रमण सकेर फर्किए मुख्यमन्त्री शाह, सीमाना र विकासका विषयमा गहिरो छलफल
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर
धनगढी, २३ वैशाख। भारत सरकारको निमन्त्रणामा एक साता लामो ऐतिहासिक भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ। काठमाडौँबाट १६ वैशाखमा दिल्ली प्रस्थान गरेको टोली लखनउ हुँदै सडकमार्गबाट धनगढी आइपुगेको हो।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहले भ्रमणको अनुभव साझा गर्दै भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य सफल भएको दाबी गरे। उनले भने, “भेटघाटका क्रममा सीमानाका, विकास, सांस्कृतिक सम्बन्ध, तथा आपसी सहकार्यका थुप्रै पक्षमा महत्वपूर्ण छलफल भएको छ।”
मुख्यमन्त्री शाहका अनुसार भारतले सीमावर्ती क्षेत्रका समस्या समाधान र लागुऔषध नियन्त्रणमा सहयोग पुर्याउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। गौरिफण्टा–पलिया सडक स्तरोन्नति र टीकापुर–खक्रौला हुँदै तिकुनि जोड्ने सडक निर्माणबारे भारतीय पक्ष सकारात्मक रहेको उनले जानकारी दिए।
मुख्यमन्त्रीले सीमावर्ती क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक साझा सम्पदालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा समेत सहकार्य गर्न सहमति जनाइएको बताए। “भ्रमणले सुदूरपश्चिमका विकास योजना र सम्भावनाबारे भारतीय पक्षलाई अवगत गराउने अवसर जुरेको छ,” उनले जोड दिए।
यो भ्रमण नेपाल संघीय गणतान्त्रिक मुलुक बनेपछिको मुख्यमन्त्री स्तरको पहिलो औपचारिक विदेशी भ्रमण भएको हो। भ्रमण टोलीमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो।
भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा थपेको प्रतिक्रिया आइरहेका छन्। अब सहकार्यलाई व्यवहारिक कार्यान्वयनमा लैजान प्रदेश सरकार अग्रसर रहने मुख्यमन्त्री शाहको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्