२०८३ साउन १४ गते बिहिवार

कर्णालीमा समाजवादी मोर्चाको बैठक सम्पन्न, जनसरोकारका विषयमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय



कर्णालीमा समाजवादी मोर्चाको बैठक सम्पन्न, जनसरोकारका विषयमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय

कमल कुमार शाही
स्वाभिमान खबर सुर्खेत, वैशाख २१ –

कर्णाली प्रदेशमा समाजवादी मोर्चा नेपालको बैठक शनिबार सुर्खेतमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा समाजवादी मोर्चा कर्णाली प्रदेश संयोजक कर्णजित बुढाथोकी (क. सुशील सि) को अध्यक्षतामा सम्पन्न उक्त बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्दै पाँचवटा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा समाजवादी मोर्चाका नेताहरू एटम सि, कलम सि, जित सि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रसाद पुरी र नेता धिर बहादुर विष्टको उपस्थिति रहेको थियो।

अघिल्लो बैठक र मोर्चाको स्थापना

समाजवादी मोर्चाको अघिल्लो बैठक केही महिनाअघि काठमाडौँमा बसेको थियो, जसमा देशभर मोर्चाको संगठन विस्तार गर्ने, साझा कार्यक्रम सञ्चालन गर्ने तथा वाम लोकतान्त्रिक शक्तिबीच एकता बढाउने कार्ययोजना तय गरिएको थियो। समाजवादी मोर्चा नेपाल २०८० सालको प्रारम्भतिर स्थापना गरिएको हो, जसमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी पार्टी तथा नेपाल कम्युनिस्ट पार्टी विप्लव  लगायतका वामपन्थी घटकहरू सहभागी छन्।

मोर्चाको राजनीतिक भूमिका

स्थापना पछि मोर्चाले नेपालको समसामयिक राजनीतिमा सत्ता सन्तुलनको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी संवैधानिक व्यवस्थाको रक्षा, संघीयता, समावेशिता, धर्मनिरपेक्षता र सामाजिक न्यायका पक्षमा मोर्चाले निरन्तर आवाज उठाउँदै आएको छ। माेर्चाले वामपन्थी एकताको सम्भावना खोज्ने र राष्ट्रहितमा साझा एजेन्डामा अघि बढ्ने प्रयास मोर्चाको विशेषता रहँदै आएको छ।

बैठकका निर्णयहरू

बैठकले निम्न निर्णयहरू गरेको छ:

१) कर्णालीमा रोजगारी, यातायात, उत्पादन, सुशासन र भ्रष्टाचारजस्ता जनसरोकारका विषयमा मोर्चाको तर्फबाट मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने।

२) समाजवादी मोर्चाको संगठनात्मक संरचना पुनर्गठन र कार्यभार हस्तान्तरण गर्ने।

३) महिला, युवा, विद्यार्थी, दलित (श्रमिक) र नागरिक समाजलाई समेटेर समाजवादी मञ्च गठन गर्ने।

४) कर्णाली समाजवादी मोर्चाको विस्तारित बैठक छिट्टै गर्ने।

५) “कर्णाली समृद्धिमा युवा विद्यार्थीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम वैशाख २६ गते गर्ने।

बैठकमा संघीय सरकारको कार्यशैली, बजेटको प्राथमिकता, सार्वजनिक संस्थानहरूको कमजोर अवस्था, भ्रष्टाचारको बढ्दो समस्या, र वाम एकताको आवश्यकता जस्ता समसामयिक विषयहरूबारे समेत गम्भीर छलफल भएको थियो।

बैठकमा सहभागी नेताहरूले समाजवादी मोर्चा एकताको माध्यम मात्र नभइ जनताका मुद्दालाई राजनीतिक प्राथमिकता दिने अभियान भएको भन्दै सक्रियताको खाँचो औंल्याएका थिए।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार