२०८३ साउन १४ गते बिहिवार

गभर्नर नियुक्ती कि सरकार संकट? कांग्रेस–एमालेबीच विश्वासको डोरी चुँडिने संकेत



गभर्नर नियुक्ती कि सरकार संकट? कांग्रेस–एमालेबीच विश्वासको डोरी चुँडिने संकेत
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर , वैशाख २१
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको विषय अहिले सत्तारुढ गठबन्धनभित्रको असहजताको मुख्य स्रोत बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १० महिना पनि सहज ढंगले पार गर्न नसक्ने संकेत देखिँदा, नेपाली कांग्रेस र एमालेबीचको सहकार्य अब ब्रेकिङ प्वाइन्टमा पुगेको देखिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमण, त्यसपछिका सन्देश र बयान, अनि प्रधानमन्त्री ओलीको प्रहारात्मक अभिव्यक्तिहरूले सहकार्यमा पहिल्यै देखिएको चिसोपनलाई औपचारिक खटपटतर्फ डोर्याइरहेको छ । कांग्रेसले सात बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै आएको भए पनि, एमालेले एकतर्फी ढंगबाट सत्ता सञ्चालन गरिरहेको आरोप उसले लगाइरहेको छ ।

गभर्नर नियुक्तीलाई लिएर विवाद चुलिएको हो । प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर निलम ढुंगानालाई अगाडि सारेका छन् भने देउवाले डा. गुणाकर भट्टको नाम सिफारिस गरेका छन् । देउवाकै आग्रहमा भट्टले राजीनामा दिए पनि, दुई साता बितिसक्दा पनि उनको नियुक्ती हुन सकेको छैन । यसैबीच ढुंगानालाई एमाले नेताहरूले सार्वजनिक रुपमा ‘गभर्नर’को रूपमा प्रस्तुत गरिसकेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म ‘विचौलिया’ पुगेको आरोप लगाएपछि सम्बन्ध झनै तिक्त बनेको छ । प्रधानमन्त्री ओलीले थापालाई प्रमाणसहित आउन चुनौती दिँदै उनको अभिव्यक्तिप्रति ‘दया लागेको’ प्रतिक्रिया दिएका छन् । यता, गगन थापा भने सत्ता साझेदारी संयन्त्रको बैठकमा सहभागी हुन छाडेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार आउने र देउवा प्रधानमन्त्री बन्ने दाबी गरेपछि सत्ता समीकरणमा थप सनसनी थपिएको छ । यद्यपि, देउवा तत्काल सरकारबाट बाहिरिने पक्षमा देखिँदैनन् । बजेट र नीति कार्यक्रम नजिकिएको बेला उनी पनि सजग ढंगले अघि बढ्न चाहन्छन् । तर, विश्वस्त स्रोतका अनुसार उनले गगन थापासँग निरन्तर सम्वाद गरिरहेका छन् र कुनै ‘कडा निर्णय’को तयारी गरिरहेका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमार्फत भट्टको नियुक्ती गराउने कांग्रेसको तयारी बैठक स्थगित भएसँगै अधुरो बनेको छ । उर्जा राज्यमन्त्रीको शपथसमेत स्थगन भएपछि सरकारभित्रको अविश्वास अब लुक्न सक्ने अवस्थामा छैन ।

सारांशमा, गभर्नर नियुक्ती एक बहाना मात्रै हो, मूल विषय सत्ता साझेदारीमा विश्वासको डोरी चुँडिन लागेको हो । कांग्रेस र एमालेबीचको सहकार्य अब कसरी अघि बढ्छ, वा टुक्रिन्छ – त्यसले देशको आगामी राजनीतिक दिशालाई निर्धारण गर्नेछ ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार