मनकामना दर्शनबाट फर्किंदै गर्दा गोरखामा माइक्रो दुर्घटना : ७ भारतीय नागरिकको मृत्यु
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन ३०
गोरखा — गोरखामा मनकामना दर्शन गरेर फर्किंदै गरेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा ७ भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।
जिल्लाको शहीदलखन गाउँपालिका–३ कनटारमा भएको दुर्घटनामा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। माइक्रोमा चालकसहित १४ जना सवार रहेको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलमै ७ जनाको मृत्यु भएको हो। मृतकहरू सबै भारतीय नागरिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा घाइते भएका अन्य ७ जनालाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि नजिकको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उक्त माइक्रो मनकामना मन्दिरमा दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेर गइरहेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
घटनालगत्तै प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरेका थिए। पहाडी तथा भिरालो भू–भागका कारण उद्धार कार्य केही समयसम्म कठिन भएको बताइएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्