२०८३ साउन १३ गते बुधवार

हामीले आफ्नो कर्तव्य पूरा गर्‍यौं’ – प्रधानमन्त्री कार्की



हामीले आफ्नो कर्तव्य पूरा गर्‍यौं’ – प्रधानमन्त्री कार्की
कमल कुमार शाही
स्वाभिमान खबर, फागुन २१
काठमाडौँ — प्रधानमन्त्री शुशिला कार्कीले मतदान गरेर नागरिकको कर्तव्य पूरा गरेको बताएकी छन्। देशभर आज भएको निर्वाचनका क्रममा मतदान गरेपछि उनले लोकतन्त्रको अभ्यासमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने धारणा व्यक्त गरिन्।

मतदानपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै कार्कीले भनिन्, “हामीलाई दिइएको कर्तव्य पूरा गर्‍यौं। म आज खुसी छु, किनभने देशमा निर्वाचन भयो।”

उनले लोकतन्त्रमा निर्वाचनलाई जनताको अधिकार र जिम्मेवारी दुवैको रूपमा व्याख्या गर्दै सबै नागरिकलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरिन्। उनका अनुसार निर्वाचनले जनताको मतमार्फत देशको नेतृत्व चयन गर्ने अवसर प्रदान गर्छ र यही प्रक्रियाले लोकतन्त्रलाई बलियो बनाउँछ।

कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै यसले देशमा लोकतान्त्रिक संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन्।

उनले निर्वाचन सफल बनाउन खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सचेत सहभागिता निरन्तर आवश्यक रहने बताइन्।
देशभरका मतदान केन्द्रमा नागरिकको उत्साहजनक सहभागितासँगै निर्वाचन सम्पन्न भइरहेको सन्दर्भमा कार्कीको अभिव्यक्तिलाई लोकतन्त्रप्रति विश्वास र जिम्मेवारीको प्रतीकका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार