२०८२ माघ १७ गते शुक्रवार

अमेरिकी आक्रमणपछि विश्वभर अमेरिकाको विरोध, काठमाडौँमा भेनेजुएलाको पक्षमा दूतावास अगाडि प्रदर्शन



अमेरिकी आक्रमणपछि विश्वभर अमेरिकाको विरोध, काठमाडौँमा भेनेजुएलाको पक्षमा दूतावास अगाडि प्रदर्शन

कमल कुमार शाही
स्वाभिमान खबर, पुष २०

काठमाडौँ नेपाल । भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणपछि विश्वका विभिन्न देशहरूमा अमेरिकाविरुद्ध विरोध प्रदर्शन भएको खबर सार्वजनिक भइरहेका बेला काठमाडौँमा पनि भेनेजुएलाको पक्षमा प्रदर्शन गरिएको छ। संयुक्त विद्यार्थी संगठनको आयोजनामा महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि भेला भएका प्रदर्शनकारीहरूले अमेरिकी हस्तक्षेपको कडा विरोध गरेका हुन्।

प्रदर्शनकारीहरूका अनुसार अमेरिकी आक्रमणपछि लाटिन अमेरिकाका देशहरू मेक्सिको, क्युबा, बोलिभिया, निकारागुवा र अर्जेन्टिना, यस्तै युरोपका स्पेन, फ्रान्स र जर्मनी, मध्यपूर्वका इरान र लेबनान, साथै एशियाका भारत, पाकिस्तान चीन र फिलिपिन्स लगायतका देशहरूमा पनि अमेरिकाविरुद्ध विरोध प्रदर्शन भएका छन्। ती देशहरूमा विद्यार्थी, नागरिक संगठन र वामपन्थी समूहहरूले अमेरिकी सैन्य हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै सडक आन्दोलन गरेका खबरहरू आएका छन्।

काठमाडौँको प्रदर्शनमा सहभागी सयुक्त विद्यार्थी संगठन का विद्यार्थी नेता नरेन्द्र सीले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अपहरण गरी अमेरिका लगिएको तथा उनीहरूमाथि लागुऔषध कारोबार र अन्तर्राष्ट्रिय आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै कारबाही गरिएको दाबी गरिएको विषयप्रति गम्भीर आपत्ति जनाए। उनीहरूले यसलाई स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथिको खुला हस्तक्षेप भनेका छन्।

प्रदर्शनका क्रममा भेनेजुएलामा देखिएको राजनीतिक समस्या बाह्य सैन्य आक्रमणबाट होइन, त्यहाँका राजनीतिक शक्तिबीच संवाद र सहमतिबाट समाधान हुनुपर्ने माग राखिएको थियो। प्रदर्शनकारीहरूले “अमेरिकी साम्राज्यवाद बन्द गर”, “भेनेजुएलाको सार्वभौमसत्ता रक्षा गर” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।

अमेरिकी दूतावास वरपर सुरक्षा व्यवस्था कडा बनाइएको भए पनि प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। संयुक्त विद्यार्थी संगठनले विश्वभर उठिरहेको विरोधले अमेरिकी कदमको वैधतामाथि प्रश्न उठाएको दाबी गर्दै, आगामी दिनमा पनि भेनेजुएलाको पक्षमा ऐक्यबद्धता कार्यक्रम जारी राख्ने जनाएको छ।

कार्यक्रमका केही झलकहरु

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार