२०८३ साउन १२ गते मङ्गलवार

सहिद पार्क नजिकै रहस्यमय घटना: वीरेन्द्रनगरमा युवा–युवती मृत अवस्थामा फेला



सहिद पार्क नजिकै रहस्यमय घटना: वीरेन्द्रनगरमा युवा–युवती मृत अवस्थामा फेला
कमल कुमार शाही
स्वाभिमान खबर,पुष १६
सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकै जङ्गल क्षेत्रमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेपछि शहरमा सनसनी फैलिएको छ। बुधबार बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

घटना वीरेन्द्रनगर नगरपालिका–४ अन्तर्गत पर्ने सहिद पार्क नजिकको जङ्गल क्षेत्रमा भएको हो। प्रहरीका अनुसार युवक र युवतीको शव एकै स्थानमा नभई केही मिटरको दूरीमा छुट्टाछुट्टै अवस्थामा भेटिएको छ, जसले घटनालाई थप शंकास्पद बनाएको छ।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवका अनुसार हाल घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
उनले भने, “हामी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेका छौँ। घटना को मुचुल्का उठाउने काम भइरहेको छ मृतकहरूको पहिचान खुलिसकेको छैन र मृत्युको कारण पनि यकिन भइसकेको छैन।”

पर्यटकीय स्थलको रूपमा परिचित सहिद पार्क क्षेत्रमा यस किसिमको घटना हुनुले स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारणमा पनि त्रास र चिन्ता बढाएको छ। घटना हत्या, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि तयारी गर्दै थप विवरण सार्वजनिक गर्ने जनाएको छ। घटनाको वास्तविक कारण र मृतकको पहिचान खुल्न बाँकी रहेकाले थप अनुसन्धानपछि मात्रै सत्य तथ्य बाहिर आउने प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार