२०८२ माघ १७ गते शुक्रवार

अन्तर्राष्ट्रिय र्‍याङ्किङतर्फ मध्यपश्चिम विश्वविद्यालयको ठोस कदम, ‘एमयू ग्लोबल र्‍याङ्किङ अपरेसन कमिटी’ गठन



अन्तर्राष्ट्रिय र्‍याङ्किङतर्फ मध्यपश्चिम विश्वविद्यालयको ठोस कदम, ‘एमयू ग्लोबल र्‍याङ्किङ अपरेसन कमिटी’ गठन

कमल कुमार शाही
स्वाभिमान खबर , पुस ७

सुर्खेत।मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले अन्तर्राष्ट्रिय शैक्षिक प्रतिस्पर्धामा आफ्नो उपस्थिति मजबुत बनाउने उद्देश्यसहित पहिलोपटक एमयू ग्लोबल र्‍याङ्किङ अपरेसन कमिटी (MU GORC) गठन गरेको छ । विश्वविद्यालयलाई विश्वस्तरीय मान्यता दिलाउने दिशामा यो कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको संयोजकत्वमा गठित आठ सदस्यीय समितिमा डा. विष्णुकुमार खड्का, डा. पुष्पराज आचार्य, डा. रेशमबहादुर विष्ट, डा. दिक्पालकुमार शाही, डा. भीमबहादुर खड्का, डा. अनुप बस्नेत क्षेत्री सदस्य रहनुभएको छ भने शेरबहादुर केसी सदस्य–सचिव रहनुभएको छ।

नवगठित समितिको पहिलो बैठक संयोजक ज्ञवालीको अध्यक्षतामा सोमबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो । बैठकले विश्वविद्यालयलाई QS World University Ranking मा सूचीकृत गराउने स्पष्ट लक्ष्यसहित आवश्यक कार्ययोजना तयार गर्दै जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ।

बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम र रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले समितिका सदस्यहरूसँग अन्तरक्रियात्मक छलफल गर्दै र्‍याङ्किङ प्रक्रियाका चुनौती, अवसर र रणनीतिबारे मार्गनिर्देशन गर्नुभएको थियो।

समितिले अध्ययन तथा अनुसन्धानको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय स्तरका प्रकाशन, विदेशी विश्वविद्यालयसँग सहकार्य, सुशासन, प्रविधिमैत्री प्रशासन, संस्थागत सुधार तथा समग्र शैक्षिक–प्रशासनिक क्षमतामा सुधारलाई प्राथमिकतामा राख्दै २०२७ सम्म र्‍याङ्किङमा सहभागिताका लागि तयारी तीव्र पार्ने निष्कर्ष निकालेको छ।

विश्वविद्यालय व्यवस्थापनले एमयूलाई केवल क्षेत्रीय विश्वविद्यालयमा सीमित नराखी अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा प्रतिस्पर्धी बनाउने दीर्घकालीन रणनीतिक लक्ष्य लिएको संकेत यो समितिको गठनले दिएको छ। शैक्षिक गुणस्तर, अनुसन्धान र अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्दै मध्यपश्चिम विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयको सूचीमा उभ्याउने प्रयासको सुरुआत भएको विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार