२०८२ माघ १७ गते शुक्रवार

अन्तर्राष्ट्रिय नेपाली फिल्म फेस्टिभल तथा अवार्ड्स (INFFA) २०२६ नयाँ दिल्लीमा आयोजना हुने



भारत
अशाेक

नेपाली चलचित्रको प्रवर्द्धन तथा सम्मानका लागि समर्पित प्रतिष्ठित कार्यक्रम इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स (INFFA) ले आफ्नो पहिलो संस्करण सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने घोषणा गरेको छ।

महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नु, साथै चलचित्र क्षेत्रका लागि सहकार्य, सह–निर्माण र व्यवसायिक विस्तारका अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।

INFFA २०२६ का लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरूबाट प्रतियोगितात्मक प्रविष्टि आह्वान गरिएको छ। इच्छुक फिल्मकर्मीहरूले २०२६ जनवरी ७ भित्र आफ्नो फिल्म दर्ता गरिसक्नुपर्नेछ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा रेड कार्पेट अवार्ड समारोह, उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा विभिन्न प्राविधिक विधामा सम्मान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुरि र समीक्षकहरूको सहभागिता, प्रिमियर शो, विशेष फिल्म प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश रहनेछन्।

महोत्सवको जुरी प्रमुखमा नेपालका लोकप्रिय अभिनेता कृष्ण मल्ल रहनेछन् भने जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री बिपना थापा तथा भारतका विशिष्ट थिएटर कलाकार अभतार शाहनी रहनेछन्।

INFFA का अध्यक्ष राजेन्द्र घिमिरेले भन्नुभयो,
“INFFA दिल्ली २०२६ नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ। यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई विश्व मञ्चसम्म पुर्‍याउने हाम्रो दृढ संकल्प छ।”

महोत्सव निर्देशक (नेपाल) जनक दीप पराजुलीका अनुसार, यस कार्यक्रमले भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुका साथै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

INFFA की प्रवक्ता तथा हिमचुली फाउन्डेशन फर आर्ट एण्ड कल्चरकी संस्थापक आकांक्षा शाहले भन्नुभयो,
“फिल्म प्रदर्शनका अतिरिक्त हामी प्यानल छलफल, अन्तर्वार्ता तथा टक शोहरू आयोजना गर्दैछौं। यसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावनाहरू खोज्नु र भारत–नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो।”
उहाँले थप्नुभयो, “INFFA २०२६ नेपाली भाषा, कला, संस्कृति र चलचित्रको प्रवर्द्धन, सहकार्य र दर्शकलाई नेपाली कथासँग जोड्ने प्रेरणादायी प्रयास हो।”

यस महोत्सवले हजारौं दर्शक तथा चलचित्रकर्मीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीच सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास आयोजकको छ।

महोत्सवमा सहभागी हुन इच्छुक फिल्मकर्मीहरूले
https://filmfreeway.com/ मार्फत INFFA मा फिल्म अपलोड गर्न सक्नेछन्।
त्यसैगरी, नेपाल चलचित्र निर्देशक समाजको कार्यालय (नेपाल) मा प्रत्यक्ष बुझाउन वा
infaa.filmsubmission@gmail.com मा गुगल ड्राइभ लिंक मार्फत पनि फिल्म पठाउन सकिने INFFAले जनाएकाे छ ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार