२०८३ साउन १५ गते शुक्रवार



नक्खु कारागार प्रशासनले भन्यो– रवि कारागारमा हाजिर होऊ

कमल कुमार शाही
स्वाभिमान खबर , भदौ २६ ललितपुर

नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिरिएका रास्वपा सभापति रवि लामिछानेलाई तुरुन्त सम्पर्कमा आउन र आत्मसमर्पण गर्न अपिल गरेको छ। रवि सहित बाहिरिएका सम्पूर्ण कैदीबन्दीलाई कारागार मा आउन भनेका छ । कारागार प्रमुख सत्यराज जोशीले हिमालय टेलिभिजनसँगको कुराकानीमा लामिछानेले देखाएको पत्र आधिकारिक नभएको प्रस्ट पारेका छन्। उनले भने, “त्यो पत्रको कुनै पनि अंश मिलेको छैन।”

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रवि लामिछानेसहितका कैदीबन्दी नक्खु कारागारबाट बाहिरिएका थिए। लामिछानेले आफूलाई कारागार प्रशासनले विधि पूरा गरेर छाडेको दाबी गरेका छन्। तर प्रशासनले सूचना जारी गर्दै उक्त दाबीलाई अस्वीकार गर्दै फरार अवस्थाको निरन्तरता हुने र कानुनअनुसार थप सजाय हुने चेतावनी दिएको छ।
कारागार प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “अत: विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न सम्पूर्ण फरार कैदीबन्दीलाई अपिल गरिन्छ।”
प्रशासनले सम्पर्कमा नआएका बन्दीलाई कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कडाइका साथ सजाय लागू गरिने चेतावनीसमेत दिएको छ।
कारागार प्रशासनको यस कदमलाई फरार कैदी नियन्त्रण र सार्वजनिक सुरक्षामा सन्तुलन कायम गर्ने प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार