दुर्गाथली विनायक टेलिफोन टावर सञ्चालनका लागि कमल सीले गरे पहल
देपेन्द बहादुर शाही
स्वाभिमान खबर ,भदौ १९ बझाङ
बझाङ । दुर्गाथली गाउँपालिका–५ स्थित विनायकमा रहेको टेलिफोन टावर सञ्चालनका लागि अखिल समाजवादी विद्यार्थी संगठनका जिल्ला इन्चार्ज कमल सीले सक्रिय पहल गरेका छन्। लामो समयदेखि अवरुद्ध टावर सञ्चालनका लागि उहाँले नेपाल टेलिकम र विद्युत् प्राधिकरणसँग निरन्तर समन्वय गर्दै आएको जानकारी दिएका छन ।
आज यसै क्रममा सुदूरपश्चिम प्रदेशको नेपाल टेलिकम प्रदेश निर्देशनालयका कार्यालय प्रमुख दोराबेन्द्र कुमार चौधरी र विद्युत् प्राधिकरणका प्रमुख जङ्गबहादुर चन्दबीच भएको भेटघाटमा टावर सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्तिबारे गहन छलफल भएको छ। छलफल सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ।
सम्झौताअनुसार करिब ७०० मिटर दूरीसम्म वायरीङ गर्ने विषयमा नेपाल टेलिकमले सहमति जनाएको छ भने विद्युत् प्राधिकरणले सो दूरीसम्म आवश्यक पाेल व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ। साथै, टावरसम्म विद्युत् पुर्याउन लाग्ने अनुमानित लागत निकाल्ने जिम्मेवारी बझाङ विद्युत् कार्यालयलाई दिइएको छ।
दुर्गाथली क्षेत्रमा अहिले पनि टेलिफोन र इन्टरनेट सुविधाको गम्भीर अभाव रहेको छ। स्थानीय बासिन्दाले फोन गर्न वा इन्टरनेट चलाउनका लागि रुखको टुप्पो वा अग्लाे ठाउँ खोज्नुपर्ने बाध्यता रहेको छ। यस्तो कठिन परिस्थितिमा टावर सञ्चालन भएपश्चात् नियमित सञ्चार सेवा उपलब्ध हुने र जनजीवन सहज हुने अपेक्षा गरिएको छ।
कमल सीको पहलमा अघि बढेको यस प्रक्रियाले दुर्गाथली क्षेत्रका बासिन्दामा ठूलो आशा जगाएको छ। टावर सञ्चालनमा आएपछि शैक्षिक, व्यापारिक, सामाजिक तथा आपतकालीन सम्पर्क सहज हुने र दुर्गम बस्तीका नागरिकले प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ।













प्रतिक्रिया दिनुहोस्