अमेरिका–इजरायलको आक्रामक विस्तारवादविरुद्ध वामपन्थी दलहरूको एक स्वर : प्यालेस्टाइन र इरानमाथिको आक्रमणको कडा भर्त्सना
देपेन्द्र बहादुर शाही
स्वाभिमान खबर ,काठमाडौं, असार ८
हालै इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा गरेको आक्रमण र अमेरिकाले इरानमाथि चलाएको आक्रमणको कडा भर्त्सना गर्दै नेपालका प्रमुख वामपन्थी दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। संयुक्त वक्तव्यमा अमेरिकी साम्राज्यवादले विश्व शान्ति, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गरेको आरोप लगाइएका छन् ।
वक्तव्य अनुसार, इजरायलले गाजामाथि गरेको आक्रमणले सयौं निर्दोष बालबालिका, महिला र सर्वसाधारणको ज्यान लिएको छ भने, अमेरिकाले इरानमाथि आक्रमण गरेर पुनः एकपटक पश्चिम एसियामा युद्धको आगो भड्काउने प्रयास गरेको छ।
> “इरानमाथिको अमेरिकी आक्रमणले सम्पूर्ण क्षेत्रलाई अशान्त र अस्थिर बनाउने खतरा बढाएको छ। यसले केवल इरानको सार्वभौमतालाई चुनौती दिएको छैन, विश्वमै एकतर्फी सैन्य वर्चस्व देखाउने दुस्साहसको परिचय दिएको छ,” वक्तव्यमा भनिएको छ।
संयुक्त वक्तव्यमा वामपन्थी दलहरूले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादका विरुद्ध स्पष्ट र दृढ राजनीतिक धारणा लिँदै उनीहरूद्वारा गरिएका हवाई आक्रमण, नाकाबन्दी र दमनात्मक रणनीतिहरूको विरोध गरेका छन्।
वक्तव्यमा भनिएको छ, “यो केवल युद्ध अपराध होइन, मानवताविरुद्धको अपराध हो। यस्तो आपराधिक कार्यलाई समर्थन गर्नु वा मौन रहनु स्वयं अपराध हो।” उनीहरूले नेपाली जनतालाई समेत न्याय, स्वतन्त्रता र शान्तिको पक्षमा उभिन आह्वान गरेका छन्।
हस्ताक्षर गर्ने वाम नेताहरू:
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुंग
नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव सी
नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य बलराम बास्कोटा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, पीबीएम पवन मान श्रेष्ठ
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति
नेकपा (बहुमत) का कृष्णप्रसाद धमला
नेकपा उपाध्यक्ष रामबहादुर भण्डारी
बाम बुद्धिजीवी तर्फबाट मिनु चापागाई
राजनीतिक संवाद साझाका संयोजक सन्दीप श्रेष्ठ
वक्तव्यमा अन्तर्राष्ट्रिय समुदाय विशेषगरी संयुक्त राष्ट्रसंघ, गैर आवद्ध राष्ट्रहरू, मानव अधिकारवादी समूहहरू र शान्तिप्रेमी शक्तिहरूलाई हस्तक्षेप गर्न पनि आह्वान गरिएको छ।
वक्तव्य २०८२ जेठ ८ गते काठमाडौंमा जारी गरिएको हो।
विज्ञप्ति














प्रतिक्रिया दिनुहोस्