२०८३ साउन १५ गते शुक्रवार

भ्रमण, भत्ता र भाडामै सकियो बजेट : मोहन्यालको २८ करोड बेरुजु !



भ्रमण, भत्ता र भाडामै सकियो बजेट : मोहन्यालको २८ करोड बेरुजु !
कमल कुमार शाही
स्वाभिमान खबर , असार ७ कैलाली

कैलाली – कैलालीको मोहन्याल गाउँपालिकामा विकासभन्दा पदाधिकारी र कर्मचारीका सुविधा र भ्रमणमै प्राथमिकता दिइएको तथ्य महालेखा परीक्षकको ६८औं वार्षिक प्रतिवेदनले सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा पालिकाले इन्धन, सवारी मर्मत, भाडा, भत्ता र अनुगमन जस्ता शीर्षकमा करोडौं खर्च गरे पनि त्यसको प्रतिफल भने अस्पष्ट देखिएको छ।

इन्धन र सवारीमै ४७ लाख खर्च

 

महालेखा प्रतिवेदनअनुसार, पालिकाले एक वर्षमा सवारी मर्मत, इन्धन र भाडामा मात्र ४७ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ।
सबैभन्दा बढी इन्धनमा १८ लाख ९ हजार, सवारी मर्मतमा १२ लाख १९ हजार, भाडामा ७ लाख ५१ हजार, पदाधिकारी इन्धनमा ४ लाख ७५ हजार र अन्य प्रयोजनमा ४ लाख ६१ हजार रुपैयाँ खर्च गरिएको छ।

तर, सवारी र मेशिनहरू कुन प्रयोजनका लागि कहिले प्रयोग गरियो भन्ने स्पष्ट अभिलेख नराखिएको महालेखाको टिप्पणी छ। एम्बुलेन्स, ब्याकलोडर जस्ता मेशिनले खपत गरेको इन्धनको कुनै मापदण्ड नभएकाले खर्चको वस्तुगत परीक्षण गर्न असम्भव रहेको प्रतिवेदनमा उल्लेख छ।

पदाधिकारीका सुविधा र भत्तामै झन्डै ७० लाख

 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार मितव्ययिता र औचित्यका आधारमा खर्च गर्नुपर्ने प्रावधान भए पनि पालिकाले पदाधिकारी तथा कर्मचारीका बैठक भत्ता र सुविधामा मात्रै ६९ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ।
त्यसमध्ये ६१ लाख ५२ हजार पदाधिकारी सुविधामा र ८ लाख ५२ हजार बैठक भत्तामा खर्च गरिएको छ।

स्वीकृतिविनै अध्यक्षको चीन भ्रमण

गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले गत वर्ष सन् २०२४ को मार्च १३ देखि १५ सम्म चीनको ग्वान्झाउमा भएको कार्यक्रममा सहभागी हुन दुई लाख रुपैयाँ खर्च गरेका थिए। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिईकन गाउँ कार्यपालिकाको निर्णयबाटै भ्रमण गरिएको देखिएको छ।

विदेश भ्रमण सम्बन्धी निर्देशिकाको उल्लंघन भएको भन्दै महालेखाले गम्भीर प्रश्न उठाएको छ।

भ्रमण र अनुगमन शीर्षकमा झन्डै ४२ लाख

पालिकाले भ्रमण र अनुगमन शीर्षकमा मात्रै ४१ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ।
त्यसमध्ये २८ लाख ५० हजार भ्रमणमा र १३ लाख ३१ हजार अनुगमनमा खर्च भएको हो।
महालेखाले अधिकांश भ्रमण ७ दिनको समयावधिमा गरिएका र त्यसको उद्देश्य नखुलेको, प्रतिवेदन समेत नपेस गरिएको उल्लेख गरेको छ।

डकुमेन्ट्री र खेलकुद कार्यक्रम पनि खर्चकै भरमा

गाउँपालिकाले नेपाली भाषाको डकुमेन्ट्री निर्माणमा ९८ हजार ५ सय र अंग्रेजी डकुमेन्ट्रीमा ८८ हजार ५ सय खर्च गरेको छ।
यस्तै, खरिद योजना र लागत अनुमानबिनै खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै २२ लाख ४८ हजार रुपैयाँ खर्च गरिएको छ।

२८ करोड बेरुजु, कैलालीकै उच्चतम

प्रतिवेदनअनुसार मोहन्याल गाउँपालिकाको बेरुजु रकम २७ करोड ९३ लाख १३ हजार पुगेको छ।
यसअघिको २० करोड ८९ लाख बेरुजुमाथि गत वर्ष मात्रै ७ करोड थपिएको हो।
कैलालीका १३ पालिकामध्ये मोहन्याल सबैभन्दा बढी बेरुजु भएको पालिका बनेको छ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार