२०८३ साउन १४ गते बिहिवार

सोती नरसंहार : उच्च अदालतले सदर गर्‍याे २३ जनाको जन्मकैद, जातीय विभेदको सजाय उल्टायो”



सोती नरसंहार : उच्च अदालतले सदर गर्‍याे २३ जनाको जन्मकैद, जातीय विभेदको सजाय उल्टायो”
कमल कुमार शाही
स्वाभिमान खबर , सुर्खेत

बैशाख १६, २०८२

जाजरकोटका नवराज बिकसहित ६ जना दलित युवाको विभत्स हत्या भएको सोती घटनामा संलग्न २३ जनाको जन्मकैदको सजाय उच्च अदालत सुर्खेतले सदर गरेको छ। जातीय विभेदसम्बन्धी आरोपमा भने जिल्ला अदालतले दिएको सजाय उल्टाइएको छ।

उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले रूकुम पश्चिमको बहुचर्चित सोती घटनाको पुनरावलोकन गर्दै जन्मकैदको सजाय यथावत राख्ने निर्णय सुनाएको हो।

अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाका अनुसार अदालतले जातीय छुवाछुतका मुद्दामा जिल्ला अदालतले सुनाएको दुई वर्ष कैद र ५० हजार जरिवानाको सजाय बदर गरिदिएको छ। उनका अनुसार, “जन्मकैदको सजाय सदर भएकाले पीडितलाई न्याय मिलेको ठहर गर्न सकिन्छ, तर जातीय आधारको सजाय उल्टिएको कारण यो फैसला आंशिक उल्टिएको हो।”

२०७७ साल जेठ १० गते घटेको सो घटनामा प्रेम सम्बन्धका कारण नवराज बिक आफ्ना साथीसहित सोती गाउँ जाँदा गाउँलेहरूले सामूहिक आक्रमण गरेका थिए। त्यो आक्रमणमा परेर नवराजसहित भेरी नगरपालिका–४ का गणेश बुढामगर (१७), सञ्जु बिक (२१), लोकेन्द्र सुनार (१८), गोविन्द शाही र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपाली (२०) को हत्या गरिएको थियो।

फैसलामा कसलाई के सजाय?
रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय दिएको थियो, जसलाई उच्च अदालतले सदर गरेको हो। तीमध्ये अधिकांश ठकुरी समुदायका हुन्। ठकुरी समुदायका १७ जनालाई जातीय भेदभावको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवाना पनि सुनाइएको थियो, जुन सजाय अब बदर भएको छ।

जन्मकैदको सजाय पाउनेहरूमा तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्लसहित सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, धनराज राना, रमित पुन मगर, प्रेमबहादुर ठकुरी, टोपबहादुर मल्ल, विष्णु मल्ल लगायत रहेका छन्।
नवराजकी प्रेमिका र उनकी आमा पनि जातीय विभेद मुद्दामा सजाय पाउनेमा परेकी थिइन्, तर उच्च अदालतको निर्णयले उनीहरूको सजाय पनि बदर भएको छ।

अदालतको फैसलापछि पीडित पक्षको धारणा
पीडित पक्षले जन्मकैदको फैसला सदर हुनु न्यायको जित भने पनि, जातीय विभेदको सजाय उल्टिनु दुःखद भएको बताएको छ। “हामीलाई न्यायको एक झलक मिल्यो, तर हाम्रो समाजमा गढिएको जातीय सोचविरुद्धको लडाइँ अझै बाँकी छ,” एक पीडित परिवारका सदस्यले भने।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार