२०८३ साउन १४ गते बिहिवार

सडक दुर्घटनामा ज्यान गुमाएका जुम्लाका काली बहादुर बुढाको ५ दिन सम्म पनि माग पूरा नभएको भन्दै वीरेन्द्रनगर तनावग्रस्त, उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन



सडक दुर्घटनामा ज्यान गुमाएका जुम्लाका काली बहादुर बुढाको    ५ दिन सम्म माग पूरा नभएको भन्द‌ै वीरेन्द्रनगर  तनावग्रस्त, उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन
कमल कुमार शाही
स्वाभिमान खबर, बैशाख १२

सुर्खेत। जुम्ला घर भएका काली बहादुर बुढाको सडक दुर्घटनामा मृत्यु भएपछि वीरेन्द्रनगर यरिचौक तनावग्रस्त बनेको छ। मृतक बुढाको उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दा तथा पीडित पक्षले बिहीबार बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन थालेका छन्।

वीरेन्द्रनगरको रेडियो नेपाल कार्यालय नजिकै भएको दुर्घटनामा बुढाको मृत्यु भएको थियो। घटना भएको ५ अौं दिन सम्म पनि कुनै सहमति नभएको भन्दै आक्रोशित भीडले यरिचौकमा टायर बाल्दै प्रदर्शन गरेको छ। प्रदर्शनका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने सुरक्षाकर्मीहरू अवस्था नियन्त्रणमा लिन खटिएका छन्।

प्रदर्शनकारीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, र सडक सुरक्षाको स्थायी व्यवस्था मिलाउनुपर्ने माग अघि सारेका छन्। चोकमा प्रदर्शनरत स्थानीयहरूले टायर बालेर ,ब्यानर तथा पोस्टर टाँसेर नारा जुलुस सहित आक्रोश व्यक्त गरेका छन्।

एक जना स्थानीय बासिन्दा भन्छन्, “काली बहादुर जस्ता निर्दोष नागरिकको सवारी लापरवाहीका कारण ज्यान जानु अत्यन्तै दुःखद हो। हामी न्याय नपाएसम्म सडक खुल्दैन।”

प्रदर्शनका क्रममा केही समय सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य झडप पनि भएको थियो। तर अहिले स्थिति आंशिक रूपमा शान्त बनेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र वार्ता प्रक्रियामार्फत समस्या समाधानको प्रयास जारी छ।

यता, मृतकको परिवारले पनि सरकारसँग न्यायको याचना गरेका छन्। “हाम्रो परिवारका अभिभावकको ज्यान गयो, अब राज्यले न्याय दिनुपर्छ,” मृतकका आफन्तले बताएका छन्।

सडक सुरक्षाको गम्भीर चुनौती र स्थानीयहरूको असन्तोष यस घटनाबाट पुनः उजागर भएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार