पोखरा पर्यटन वर्ष उद्घाटन समारोहमा बेलुन विष्फोट: उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाइते
स्वाभिमान खबर , माघ ३
कमल कुमार शाही
पोखरा। पोखरा पर्यटन वर्ष २०८१ को भव्य उद्घाटन समारोह दुर्घटनाको कारण त्रासदीपूर्ण बन्यो। समारोहका क्रममा बेलुन विष्फोट हुँदा नेपाल सरकारका अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।
बेलुन विष्फोटबाट मन्त्री बिष्ण पौडेलको कोटमा आगो लागेको छ भने मेयर आचार्यको अनुहारमा घाउलागेको छ । पर्यटन प्रवर्द्धनका लागि आयोजित कार्यक्रमको औपचारिक उद्घाटन गर्न बेलुन उडाइने क्रममा एकाएक शक्तिशाली विष्फोट भएर उक्त घटना भएको बुझिएको छ ।
विष्फोटका कारण उपप्रधानमन्त्री पौडेलको कोटमा आगो सल्कियो, जसले कार्यक्रम स्थलमा केहीबेर हंगामा सिर्जना गर्यो । मेयर आचार्यको गालामा आगोको झिल्को परेर सामान्य घाइते भएका छन् ।
अन्य उपस्थित पाहुनाहरू केहीबेरका लागि त्रसित बनेका थिए । विष्फोटको असर देखिने बित्तिकै कार्यक्रमस्थलमा रहेका सुरक्षा कर्मीहरूले तत्कालै आगो निभाएर अवस्था नियन्त्रणमा लिएका थिए। दुबै घाइतेको प्रारम्भिक उपचार गरिएको छ, उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।विष्फोटको कारणबारे अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। सुरक्षा सतर्कता प्रश्नचिह्न खडा भएको छ ।
उच्च सुरक्षा सावधानी अपनाइनुपर्ने यस्ता सरकारी कार्यक्रममा बेलुन विष्फोट जस्तो अप्रत्याशित घटना हुनु सुरक्षाका दृष्टिले गम्भीर लापरवाहीको संकेत भएको बताइन्छ। विज्ञहरूका अनुसार, हाइड्रोजन वा अन्य द्रुत ज्वलनशील ग्यासयुक्त बेलुन प्रज्वलन हुँदा विष्फोट हुन सक्ने सम्भावना रहन्छ। यस्ता कार्यक्रममा ग्यास बेलुन प्रयोग गर्दा विशेष सुरक्षा सतर्कता अपनाउनुपर्नेमा लापरवाही भएको देखिन्छ।
पोखरा पर्यटन वर्ष अभियान प्रभावित नहुने
घटनाका बावजुद पोखरा पर्यटन वर्ष २०८१ अभियानलाई प्रभाव पार्न नदिइने बताइएको छ। आयोजकहरूका अनुसार, पर्यटन प्रवर्द्धनका लागि पोखरामा वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरिनेछन्। यो घटनाले आगामी कार्यक्रमहरूको सुरक्षा प्रबन्धलाई थप कडा बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ पोखरामा भव्य रूपमा आयोजना गरिएको पर्यटन वर्ष उद्घाटन समारोह अनपेक्षित घटनाले त्रासदीपूर्ण बनेको छ।
बेलुन विष्फोटबाट उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाइते भए पनि उनीहरूको अवस्था सामान्य रहेको छ। अबका दिनमा यस्ता उच्चस्तरीय कार्यक्रमहरूमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट भएको छ। (लक्ष्मण कंडेल )













प्रतिक्रिया दिनुहोस्