संयुक्त राष्ट्रसंघद्वारा क्यानाबिस गाँजा ‘अत्यन्त खतरनाक लागूपदार्थ’ सूचीबाट हटाइयो
स्वाभिमान खबर,पौष ४
काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गतको नार्कोटिक ड्रग्स आयोगले क्यानाबिस (गाँजा) लाई विश्वकै सबैभन्दा खतरनाक लागूपदार्थको सूचीबाट हटाउने ऐतिहासिक निर्णय गरेको छ। यस निर्णयसँगै क्यानाबिसलाई औषधीय महत्व भएको पदार्थका रूपमा औपचारिक मान्यता दिइएको छ।
बुधबार सम्पन्न आयोगको बैठकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सिफारिसअनुसार क्यानाबिस र क्यानाबिस रेजिनलाई सन् १९६१ को सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स अन्तर्गतको ‘अनुसूची–४’ (Schedule IV) बाट हटाउने प्रस्ताव पारित गरेको हो। यसअघि क्यानाबिसलाई हेरोइनजस्ता कडा लागूपदार्थसँगै राखिँदै आएको थियो।
अनुसूची–४ मा रहेका पदार्थलाई अत्यन्त लत लाग्ने, दुरुपयोगको उच्च सम्भावना भएको र औषधीय उपयोग अत्यन्त सीमित मानिँदै आएको थियो। अब भने क्यानाबिसलाई सो सूचीबाट हटाएर यसको औषधीय उपयोगलाई अन्तर्राष्ट्रिय स्तरमै स्वीकार गरिएको छ।
ड्रग नीति सुधारका लागि काम गर्ने विभिन्न संस्थाहरूले यस निर्णयलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन्। उनीहरूका अनुसार संसारभर औषधीय प्रयोजनका लागि क्यानाबिस प्रयोग गर्ने लाखौं बिरामीका लागि यो सकारात्मक खबर हो। साथै क्यानाबिसमा आधारित औषधिको बढ्दो बजार यथार्थलाई पनि यो निर्णयले स्वीकार गरेको छ।
इन्टरनेशनल ड्रग पोलिसी कन्सोर्टियमकी कार्यकारी निर्देशक एन फोर्डहमले भनिन्, “क्यानाबिस औषधि हो भन्ने कुरा ढिलै भए पनि स्वीकार गरिनु स्वागतयोग्य छ। तर अझै पनि क्यानाबिसलाई अन्तर्राष्ट्रिय रूपमा गलत रूपमा वर्गीकरण गरिएको अवस्था पूर्ण रूपमा समाधान भएको छैन।”
यद्यपि क्यानाबिस अनुसूची–४ बाट हटाइए पनि यो अझै अनुसूची–१ (Schedule I) भित्रै रहनेछ, जसअन्तर्गत केही कडा कानुनी नियन्त्रण कायम रहनेछन्। त्यसैले यस निर्णयको तत्काल प्रभाव सरकारहरूको नीति परिवर्तनमा नदेखिन सक्ने विश्लेषकहरू बताउँछन्। तर संयुक्त राष्ट्रसंघलाई मार्गदर्शन मान्ने देशहरूमा औषधीय क्यानाबिस वैधानिक बनाउने प्रयासलाई यसले बल पुर्याउने अपेक्षा गरिएको छ।
क्यानाबिस पुनः वर्गीकरणसम्बन्धी प्रस्ताव मतदानमा २७ मत पक्षमा र २५ मत विपक्षमा परेका थिए। अमेरिका, बेलायत, जर्मनी र दक्षिण अफ्रिकाले समर्थन जनाएका थिए भने ब्राजिल, चीन, रुस र पाकिस्तानले विपक्षमा मत दिएका थिए।
डब्ल्यूएचओका क्यानाबिससम्बन्धी अन्य चार सिफारिस भने आयोगले अस्वीकार गरेको छ। ती सिफारिसमा क्यानाबिसका अर्क (extract) र टिन्चरलाई अनुसूची–१ बाट हटाउने तथा यसको प्रमुख मनो-सक्रिय तत्व टेट्राहाइड्रोक्यानाबिनोल (THC) को पुनः वर्गीकरणसम्बन्धी प्रस्ताव समावेश थिए।
मारिजुआना बिजनेस डेलीका विश्लेषक आल्फ्रेडो पास्कुअलका अनुसार, “अनुसूची–४ बाट क्यानाबिस हटाइनु आफैंमा ठूलो सन्देश हो। यसले क्यानाबिस औषधीय रूपमा उपयोगी छ र ६० वर्षअघि जस्तो खतरनाक छैन भन्ने स्वीकारोक्ति दिन्छ।”
संयुक्त राष्ट्रसंघको यो निर्णयले विश्वव्यापी लागूपदार्थ नीतिमा बहसलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।
( सहाभार – CNN Health news)













प्रतिक्रिया दिनुहोस्