ह्वीलचेयर दौड प्रतियोगिता सम्पन्न, अपांगता भएका व्यक्तिको आत्मबल बढाउने प्रयास
कमल कुमार शाही
२० , जेठ स्वाभिमान खबर, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ को आयोजनामा खुल्ला ह्वीलचेयर दौड प्रतियोगिता २०८२ जेठ २० गते सम्पन्न भएको छ। अपांगता भएका नागरिकहरूका लागि आत्मबल, आत्मगौरव र सामाजिक समावेशिताको सन्देश दिन यो प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन वीरेन्द्रनगर–३ की वडाध्यक्ष सरस्वती शाहले गरेकी थिइन्। आफ्नो उद्घाटन मन्तव्यमा उनले भनिन्, “अपांगता भएकाहरू समाजका सक्षम अंग हुन्, उनीहरूलाई अवसर दिनु नै समावेशी समाजको मूल आधार हो।” उनले यस्ता कार्यक्रमले सहभागितामूलक लोकतन्त्रलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिन्।
प्रतियोगितामा महिला र पुरुष गरी २१ जना सहभागी थिए। प्रतिस्पर्धा वीरेन्द्रनगरको बजार क्षेत्रको मुख्य सडक खण्डमा आयोजना गरिएको थियो, जहाँ स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सडकमा दौडिरहेका अपांगता भएका सहभागीहरूलाई सर्वसाधारणले उत्साहपूर्वक हौसला प्रदान गरेका थिए।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उप–प्रमुख, अपांग महासंघका प्रतिनिधि, पत्रकार महासंघ, सामाजिक अभियन्ता तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै सामाजिक अभियन्ताहरूले अपांगता भएका नागरिकहरूलाई समाजमा अवसर दिनु सकारात्मक सोचको आवश्यकता भएको बताए।
यो कार्यक्रम पाराफाउन्डेसन र शिवा कोष को सह–आयोजनामा सम्पन्न भएको हो। अन्त्यमा विजयी तथा सहभागी सबै खेलाडीहरूलाई प्रमाणपत्र, ट्रफी र सम्मान प्रदान गरियो।
स्थानीय तहबाट आयोजित यस किसिमको कार्यक्रमले आगामी दिनमा अपांगता भएका व्यक्तिहरूको जीवनशैलीमा परिवर्तन ल्याउने विश्वास आयोजकहरूले गरेका छन्















प्रतिक्रिया दिनुहोस्