२०८२ चैत्र १९ गते बिहिवार

चीनबाट प्रधानमन्त्री शाहलाई बधाई : बेल्ट एन्ड रोड सहकार्य थप सुदृढ बनाउने संकेत



चीनबाट प्रधानमन्त्री शाहलाई बधाई : बेल्ट एन्ड रोड सहकार्य थप सुदृढ बनाउने संकेत

कमल कुमार शाही

स्वाभिमान खबर, चैत १३
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई चिनियाँ समकक्षी ली छ्याङ ले बधाई सन्देश पठाउँदै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

चिनियाँ प्रधानमन्त्री लीले पठाएको सन्देशमा चीन र नेपाल बीचको सम्बन्ध ऐतिहासिक रूपमा विश्वास र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै विगत ७१ वर्षदेखि पञ्चशीलका सिद्धान्तअनुसार सम्बन्ध विस्तार हुँदै आएको बताएका छन्। उनले यस मित्रतालाई आगामी दिनमा अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले विशेषगरी बेल्ट एन्ड रोड पहल अन्तर्गत सहकार्यलाई अझ तीव्र बनाउने इच्छा व्यक्त गरेका छन्। संयुक्त निर्माण परियोजनाहरूलाई उच्चस्तरमा लैजाँदै आर्थिक, पूर्वाधार, व्यापार तथा अन्य विभिन्न क्षेत्रमा सहकार्य गहिरो बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनमा चीनले निरन्तर साथ र समर्थन रहने स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको संरक्षणमा दृढ सहयोग रहने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

यसैबीच, यसअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि प्रधानमन्त्री शाहलाई बधाई दिँदै चीन–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउने संकेत गरिसकेका थिए ।

नयाँ नेतृत्वसँगै नेपाल–चीन सम्बन्धले नयाँ गति लिने अपेक्षा गरिएको छ, विशेषगरी पूर्वाधार विकास, लगानी विस्तार र क्षेत्रीय सहकार्यका आयामहरूमा सकारात्मक प्रगति हुने विश्लेषकहरूको धारणा रहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार