गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षमै हृदयघातबाट निधन
कमल कुमार शाही
स्वाभिमान खबर,पुष २७
काठमाडौं — नेपाली तथा भारतीय संगीत र चलचित्र क्षेत्रका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या आएपछि नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
इन्डियन आइडल सिजन–३ का विजेता तामाङ केही समयदेखि दिल्लीमै रहँदै आएका थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनलाई हृदयघात भएको हो। निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको जानकारी सार्वजनिक भएको छैन।
फिल्मकर्मी राजेश घतानीले स्वाभिमान खबरसँग कुरा गर्दै भने, “आज बिहान उहाँको निधनको खबर परिवार र नजिकका आफन्तबाट थाहा पाएँ। यो नेपाली संगीत र चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति हो।” अर्का गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कलाकारहरूका लागि उनी प्रेरणाको स्रोत भएको उल्लेख गरेका छन्।
संघर्षबाट सफलतासम्मको यात्रा

पश्चिम बंगालको दार्जिलिङमा सन् १९८३ जनवरी ४ मा जन्मिएका प्रशान्त तामाङको जीवन संघर्षपूर्ण थियो। सानै उमेरमा पिताको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थाले। प्रहरी ब्याण्डमार्फत गीत गाउँदै उनले संगीतप्रतिको आफ्नो सपना जोगाइरहेका थिए।
सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा सहभागी भएपछि उनको जीवनले नयाँ मोड लियो। प्रतियोगिताको विजेता बन्दै उनले भारतसहित विश्वभर छरिएर रहेका नेपाली समुदायको मन जिते। उनको जित नेपाली भाषी समुदायका लागि गौरवको विषय बनेको थियो।
संगीतसँगै अभिनयमा पनि पहिचान
इन्डियन आइडलपछि प्रशान्त तामाङले थुप्रै एल्बमहरू सार्वजनिक गरे। संगीतसँगै अभिनय क्षेत्रमा पनि सक्रिय बनेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’ मार्फत दर्शकको मन जिते। पछिल्लो समय उनले भारतीय वेब सिरिज ‘पाताल लोक’ सिजन–२ र सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा समेत अभिनय गरेका थिए।
‘ब्याटल अफ गलवान’मा सँगै काम गरेका अभिनेता अनुपविक्रम शाहीले भने, “उहाँ अत्यन्त मिलनसार, अनुशासित र क्षमतावान कलाकार हुनुहुन्थ्यो। यो खबर पत्याउन गाह्रो भइरहेको छ।”
परिवार र अन्त्येष्टि
प्रशान्त तामाङकी पत्नी र एक छोरी छन्। उनी दिल्लीको जनकपुरी क्षेत्रमा बसोबास गर्दै आएका थिए। प्रारम्भिक जानकारी अनुसार निधनको खबर सबैभन्दा पहिले उनकी सासुआमाले थाहा पाएकी थिइन्। त्यसपछि इन्डियन आइडलका साथी अमित पलमार्फत सामाजिक सञ्जालमा खबर सार्वजनिक भएको हो।
दार्जिलिङका संगीतकर्मीहरूका अनुसार तामाङको अन्त्येष्टि दार्जिलिङमै गर्ने कि दिल्लीमा भन्ने विषयमा परिवारले निर्णय गर्ने तयारी गरिरहेको छ।
नेपाली संगीत र कला क्षेत्रले आज एउटा प्रेरणादायी स्वर, संघर्षशील कलाकार र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने व्यक्तित्व गुमाएको छ। प्रशान्त तामाङ सदैव नेपाली कला–संस्कृतिको इतिहासमा स्मरणीय रहनेछन्।














प्रतिक्रिया दिनुहोस्