२०८२ चैत्र १९ गते बिहिवार

एनएसआईएस परियोजना अन्तर्गत अनलाइन लर्निङ प्लेटफर्म विकास बैठक श्रीलंकामा सम्पन्न



एनएसआईएस परियोजना अन्तर्गत अनलाइन लर्निङ प्लेटफर्म विकास बैठक श्रीलंकामा सम्पन्न

कमल कुमार शाही
स्वाभिमान खबर, मंसिर १८
श्रीलंका । नेपाल, भारत र श्रीलंकामा सञ्चालित “व्यवसाय, नवप्रवर्तन तथा उद्यमशीलताको लागि अनुसन्धान र डिजिटल सीप विकास” भन्ने मूल थिमसहितको एनएसआईएस (NSIS) परियोजना अन्तर्गतको अनलाइन लर्निङ प्लेटफर्म विकास सम्बन्धी कार्यदल बैठक श्रीलंकामा सफलतापूर्वक सम्पन्न भएको छ।


मिति २०८२ मंसिर १६ देखि १९ गतेसम्म युनिभर्सिटी अफ रुहुना, श्रीलंकामा सम्पन्न बैठकमा परियोजनाको विस्तृत प्रगतिबारे प्रस्तुति, दस वटा मोड्युलमा आधारित खुला पहुँच प्रशिक्षण कार्यक्रम र आगामी राष्ट्रिय सचेतना दिवससम्बन्धी योजनामाथि विस्तृत छलफल गरिएको थियो। अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गर्ने तयारीअन्तर्गत प्रारम्भिक प्राविधिक प्रस्तुति पनि बैठकको मुख्य आकर्षण बनेको थियो।


बैठकको सहजीकरण आयरल्यान्डस्थित टेक्नोलोजिकल युनिभर्सिटी अफ द शाननका परियोजना संयोजक प्याड्रिक किर्बीले गरेका थिए। कार्यक्रममा नेपाल, भारत, श्रीलंका तथा युरोपका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू र परियोजना मूल्यांकन टोलीको सहभागिता रहेको थियो। नेपालतर्फबाट मध्यपश्चिम विश्वविद्यालयका आईसीटी संयोजक उप–प्राध्यापक पन्च देव भट्ट सहभागी हुनुभएको थियो।


बैठकमा उप–प्राध्यापक भट्टले २०८३ बैशाख ११ देखि १३ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी गराउँदै व्यापक सहभागिताको आह्वान गर्नुभएको थियो। साथै, सहभागी विश्वविद्यालयहरूबीच सहकार्य विस्तार, संस्थागत नेटवर्कमार्फत सम्मेलनको प्रचार–प्रसार तथा युनिभर्सिटी अफ रुहुनासँग एमओयू तथा शैक्षिक आदान–प्रदानका सम्भावनाबारे पनि छलफल गरिएको थियो।


कार्यक्रमसँगै युनिभर्सिटी अफ रुहुना स्थित केन्द्रीय पुस्तकालयको अवलोकन भ्रमण समेत आयोजना गरिएको थियो। पुस्तकालय व्यवस्थापन प्रणाली, स्रोत–सामग्री र मौलिकता संरक्षणबारे कार्यदल सदस्यहरूले नजिकबाट अध्ययन गरेका थिए।


युरोपियन युनियनको इरास्मस+ कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित एनएसआईएस बैठक युनिभर्सिटी अफ रुहुनाले आयोजना गरेको हो भने समन्वय सोही विश्वविद्यालयका परियोजना संयोजक डा. कोकिला रामानायाकाले गर्नुभएको थियो।

कार्यक्रमका केही झलकहरू

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार