मानवताविरुद्धको अपराधमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड ।
कमल कुमार शाही
स्वाभिमान खबर, असोज १
ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलन दमन सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्षको आन्दोलन नियन्त्रण प्रक्रियामा हसिनाले बलपूर्वक दमनको निर्देशन दिएको प्रमाणित भएको भन्दै सोमबार न्यायालयले फैसला सुनाएको हो।
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी समावेश रहेको तीन सदस्यीय इजलासले हसिनासहित तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको छ। तीनैजना अभियुक्तमध्ये एकजनामात्र अदालतमा उपस्थित भएका थिए।
अदालतका अनुसार विद्यार्थी आन्दोलनलाई नियन्त्रण गर्न हसिनाले सुरक्षा निकायलाई ड्रोनमार्फत आन्दोलनकारीको खोजी तथा पहिचान गर्न अनुमति दिएको, तथा भीड रहेको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएको ठहरिएको छ। इजलासले यो कार्यलाई ‘अत्यधिक बल प्रयोग’ र ‘मानवताविरुद्धको अपराध’को रूपमा वर्णन गरेको छ।
यस मुद्दामा ५४ जनाको बयान, दृश्य–श्रव्य सामग्री र सरकारी निर्देशनहरूलाई प्रमाणका रूपमा पेश गरिएको थियो। ती प्रमाणका आधारमा हसिनाले आन्दोलन दमनमा प्रमुख भूमिका खेलेको अदालतले स्पष्ट गरेको छ।
अदालती सुनुवाइमा हसिना उपस्थित भइनन्। उनी हाल भारतमा बसोबास गरिरहेको बुझिएको छ। निर्णय सार्वजनिक भएपछि बंगलादेशको राजनीतिक वातावरण फेरि तनावपूर्ण बन्दै गएको छ, जबकि फैसलाले अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि तानेको छ।













प्रतिक्रिया दिनुहोस्