२०८२ चैत्र १९ गते बिहिवार

नयाँ वर्षको अवसरमा …..!!



नयाँ वर्ष…
एक शंखनाद हो –
पुरानो अन्यायको विसर्जनको,
र नवनिर्माणको उद्घोष।

 

नयाँ वर्षको अवसरमा …..!! – बिज्ञान सी । 

नयाँ वर्ष आयो, बधाईको भुईँचालो चल्यो
तर जनताको मुटुमा अझै त भोकै बल्यो
रङ्गीन शुभकामनाको पर्दा पछाडि,
हाम्रा सपना अझै कफनमै सुतिरहेका छन् – चुपचाप!

कसले भन्यो ‘नयाँ वर्ष’ आयो भनेर?
जसको चुलोमा आगो छैन,
जसको छातीमा न्याय छैन,
उसको लागि त हरेक वर्ष – उही राते वर्ष!

हामीले रच्नेछौं नयाँ वर्ष,
शब्द होइन, संघर्षको अक्षरले!
जहाँ ऋतु फेरिन्छ, व्यवस्था फेरिन्छ,
र ‘नयाँ’ को अर्थ हुन्छ – परिवर्तनको प्रतिबद्धता।

नयाँ वर्ष त्यो हो,
जहाँ किसानले बिउसँगै सपना रोप्छ,
श्रमिकले रगतसँगै इतिहास लेख्छ,
विद्यार्थीले कलम चलाउँछ – गोलियो होइन, सचेत निर्णयमा!

अब होइन मौन बधाई,
न त ‘सुखद रहोस्’ को खोक्रो कामना!
अब हामी चाहन्छौं –
समानताको बैज्ञानिक क्रान्ति,
न्यायको खड्ग,
र जनता-जनताबीचको साँचो ऐक्यबद्धता!

नयाँ वर्ष…
एक शंखनाद हो –
पुरानो अन्यायको विसर्जनको,
र नवनिर्माणको उद्घोष।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार