राणा बिरूद्ध लड्ने नेपाल को पहिलो सहिद बलदेव “बाँकाबिर” अछामी राजकुमार।
बाँकावीरको इतिहास
भदौ २६ सुर्खेत
कोतपर्वबाट विसं १९०३ मा सत्ता हत्याएपछि जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखेर अड्कलेको मानो खानुपर्ने बनाएकाले राजपरिवार तथा मोफसलका ठकुरी रिसाएका थिए । साथै अछाममा खटिने राणाका कर्मचारीलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युँमा राखी बोकेर ठाउँ–ठाउँमा डुलाउनुपर्ने, कर्मचारीलाई गोर्खाली मानो भनी चामल, दाल, घिउ, मसला उठाउनुपर्ने, छोरी चेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले उनीहरू मुर्मुरिएका थिए।

अछामी राजासँग विवाह गरिएका राजा गीर्वाण युद्ध वीरविक्रम शाहकी छोरीपट्टिकी नातिनीबाट जन्मेका बलदेव शाह (बाँकावीर)ले राणाको फौजलाई रासन नदिने अभियान चलाए । अछाम घर भएका पूर्व आइजिपी मोतिलाल बोहरा बाँकावीरको विद्रोहबाट नै नेपालमा छापामार शैलीको युद्धको सुरुआत भएको मान्छन् ।
‘यो अभियान क्रमशः अछामबाट डोटी बझाङ जुम्ला र दैलेख सम्म फैलिन थालेको थियो ’ बाँकावीरको बारेमा लामो अध्ययन गरेका नेपाल प्रहरीका पूर्व आइजिपी मोतीलाल बोहरा भन्छन्, आफूविरुद्ध सैन्य सङ्गठन नै बनाएर गर्न लागेको खबर आफ्ना सैनिकमार्फत जङबहादुरले पाइहाले । त्यसपछि बाँकावीरको हत्या गर्ने योजनामा राणहरु पुगे ।’
राजद्रोहको अपराध गरेको भन्दै बाँकावीरलाई ‘मोस्ट वान्टेड’ अपराधीको सूचीमा राखियो । त्यसपछि जङबहादुरले विसं १९०५ वैशाखमा ‘जहाँ फेला पर्छन्, त्यहीँ काट्नू’ भन्ने आदेश दिए । बलदेवसहित बझाङका अम्बरसिंह भण्डारी र ईश्वर सिंहलाई समेत काट्ने आदेश दिइयो
बाँकावीरलाई काट्न दिएको आदेश बोहराले यसरी प्रस्तुत गरेका छन् ।
‘स्वस्ति श्री प्राईमिनिस्टर एण्ड कमाण्डर इन चिफ जनरल जंगबहादुर कुँवर कस्य पत्रम् ।
आगे भवानीसिंह स्वाँर के
भगुवा गुरुप्रसाद शाहले हामीलाई दागा गर्न भनी पठाएको आछामी रण भीमसाहिको भाई बल्देव शाही…….१, बझागी अम्बर सिंह भण्डारी…….१, गुमानसिहंको भाई ईश्वरसिंह………. १, तीन जना जहाँ फेला पर्छन् इनलाई काटी दिनु भन्ने श्री ५ सरकारको हुकुम भयाको छ काटी दिनु । इनीहरूका मद्तीमा जो जो छन् तिनलाई नेल गलफन्दी हाली न उम्कन्यागरी यहा ल्याउने काम गर्नु………… इति संवत १९०५ साल मिति वैशाख सुदि……….रोज सुभम ।
अम्बर र ईश्वरलाई काटियो या काटिएन भन्ने तथ्य फेला परेको छैन । तीनै जनालाई एउटै आदेशमा काट्नु भनेको हुँदा अम्बर र ईश्वर बलदेवका सहयोगी थिए कि भन्ने पनि अनुमान गर्न सकिने बताउँछन्, बोहरा ।
‘उनीहरूलाई मारियो वा भागेर गए भन्ने कुरा अझै कहीँ पुष्टि भएको छैन’ उनी भन्छन्, ‘तर, बाँकावीरलाई भने छलकपट गरेर हत्या गरिएको हो ।’
बलदेवलाई काट्ने आदेश आएपछि अछाम, बान्नीगढीमा बसेका जङ्गबहादुरका सैनिक सादा पोसाकमा बलदेवको सुराकी गर्न गाउँ डुल्न थाले ।
बोहरा भन्छन्,– ‘एक पटक जङ्गबहादुरका सैनिकले बलदेवलाई कैलाली चिसापानीदेखि उत्तरको जंगलमा घेरा हाली पक्रन खोज्दा वर्षातको भेलसहित उर्लिएको खोलासमेत उफ्रिएर पार गरी बाँकावीर भाग्न सफल भएका थिए ।’
मोतीलाल बोहराका अनुसार बाँकावीरलाई सहजै पक्राउ गर्न नसकेपछि राणा सरकारले षड्यन्त्रको बाटो रोज्यो । जङबहादुरले बाँकावीरलाई मार्ने जिम्मा अछामकै स्वाँरलाई दिए । आफ्नो पल्टनमा रहेका अछामका भवानीसिंह स्वाँर र कालुसिंह स्वाँरलाई राणा विरोधी भएको र पल्टनबाट बर्खास्त गरेको नक्कली कथासहित बलदेव (बाँकावीर) लाई मार्न अछाम पठाए ।
राणाले निकाला गरेको कारण देखाउँदै आफू पनि राणाविरुद्धको विद्रोहमा सामेल हुने भन्दै भवानीसिंह र कालुसिंह स्वाँर अछाम आएर बाँकावीरको टोलीमा मिसिए । खासमा उनीहरु सुराकी थिए । अछामबाट राणा सैनिक हटाइने भन्दै उनीहरूले बाँकावीरलाई विश्वासमा लिए । यता बाँकावीरलाई उनीहरुले बान्नीगढीको सैनिक क्याम्प आक्रमण गर्ने योजना बनाए ।
विसं १९०६ को बर्खा याममा बाँकावीरले बान्नीगढीमाथि आक्रमण गर्ने योजना बनाए । आक्रमणका लागि रेकी गर्न भन्दै बाँकावीरसँगै स्वाँरबन्धु पनि गए ।
‘रेकीबाट फर्किँदै गर्दा बाँकावीर काफलखेत (तत्कालीन जनालीकोट गाविस वडा नं ५, हाल– बान्नीगढी गाउँपालिका) धारामा नुहाउन थाले’ बोहरा भन्छन्, ‘नुहाउँदै गरेका बाँकावीरमाथि भवानी र कालुसिंह स्वाँरले खुकुरी प्रहार गरे । टाउको छिनाए ।।’
बोहराले मात्र होइन बाँकावीरका बारेमा अछामका इतिहासकार सुरतबहादुर शाहले पनि लामो अध्ययन गरेका छन् ।
शाहका अनुसार राणाविरुद्ध यो पहिलो विद्रोह थियो । राणा शासन सुरु भएको तीन वर्षमै बाँकावीरको हत्या गरिएपछि सुदूरपश्चिममा जहानियाँ राणा शासनविरुद्धको विद्रोह समाप्त भयो ।
बाँकावीरको हत्यापछि तत्कालीन कर्णेल खड्गबहादुर कुँवर राणाले पौष, १९०५ मा लेखेको पत्रमा ‘हामीमाथि दागा गर्न आउन्या अछामका बलदेव शाहीलाई काटी आउन भनी भवानी सिंह स्वाँर, कालु सिंह स्वाँरलाई पठाएको हो’ भन्ने उल्लेख छ । उक्त पत्र बोहराले लेखेको नेपालका प्रथम अमर सहिद बाँकाबिरमा पनि राखिएको छ ।
पुस्तकमा बाँकावीरलाई काटेपछि भवानी र कालु स्वाँरलाई पुनः काठमाडौँ बोलाएर राणाले बैतडी र दार्चुलाको हाकिम नियुक्त गरेका थिए । सुदूरपश्चिममा उदाएका अमर नक्षत्रमा पनि सुरतबहादुर शाहले यो विषय उल्लेख गरेका छन् ।
आधार र प्रमाण सहित नेपालको पहिलो सहिद भएको उल्लेख गरेका शाह र बोहरा दुवै अहिले ओलीको भाषण पछि हौसिएका छन् ।
‘हामीले वर्षाै पहिले यो कुरा पुष्टि गरिसकेका थियौँ अहिले बल्ल आएर यो कुरा सार्वजनिक हुँदै छ हामी खुसी छौँ’ बोहरा भन्छन्, ‘अब भाषण मात्रै होइन नीतिगत रूपमा पहिलो सहिद बाकाबीरलाई घोषणा हुनुपर्छ ।’
शाहले पनि लामो खोज र अनुसन्धानबाट पुष्टि भएको विषयलाई ओझेलमा परिएको गुनासो गरे ।
‘सत्य सत्य नै हुन्छ ’ उनी भन्छन् ‘अब यो सत्य सबैले जानकारी पाउनु पर्छ । नेपालको प्रथम सहिद बाँकावीअर्थात् बलदेव शाह नै हुन् । ’















प्रतिक्रिया दिनुहोस्